Logo

Breaking News 1

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकबारे शिर्ष नेताहरुका बिचमा के भयो छलफल ?



काठमाडौँ । संक्रमणकालिन न्यायसम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित गर्ने सरकारको तयारी सफल नहुने देखिएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको शिर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक समितिमा लैजानुपर्ने बताएपछि सरकारको तयारी सफल नहुने देखिएको हो ।

सभामुखको कार्यकक्षमा शनिबार बसेको बैठकपछि एमाले अध्यक्ष ओलीले विधेयक कुनै न कुनै हिसाबले समितिमा लैजानुपर्ने भन्दै भने,‘सदनका काम कारबाहीहरूको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ । समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ । दुई तीन दिनभित्र अर्को बैठक बस्छ ।’

बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भने संक्रमणकालिन न्याय सम्बन्धी विधेयकका बारेमा छलफल शुरु भएको भन्दै चैत २८ गते फेरी बैठक बस्ने जानकारी दिए । उनले भने, ‘सदन भित्रको टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिटो टुङ्ग्याउन छलफल भयो, सैद्धान्तिक रूपमा हामी सहमत नै छौँ । प्राविधिक पाटो भएकाले विज्ञहरू पनि बसेर २८ गतेको बैठकले टुङ्ग्याउने कुरा भएको छ । हामी सरकारमा बसेकाहरूले फास्ट ट्र्याकबाट टुङ्ग्याउने भनेका छौँ । प्रतिपक्षले समितिमा लैजाने कुरा छ, बीचको बाटो खोज्ने भन्ने पनि छ ।’

सभामुख देवराज घिमिरेले शीर्ष दलका नेताहरुबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : २७ बजे