रोल्पा । बहुक्षेत्रीय पोषण योजनाको हजार दिने सुनौलो आमाहरूको पोषण सुधारको लागि मौसमी तथा बेमौसमी जातका तरकारीका बिउँ र आवश्यक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम परिवर्तन गाउँपालिका–६ को नाफे कोल्बोटमा सम्पन्न भएको हो । लैङ्गिक समानताको बलियो आधार, श्रीजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुलनाराका साथै सुरु भएको वितरण कार्यक्रमको परिवर्तन गाउँपालिका–६ का वडाअध्यक्ष भरत कुमार बुढा मगरको अध्यक्षतामा भएको वितरण कार्यक्रममा परिवर्तन गाउँपालिका–६ का वडा सदस्य गण बहादुर बुढा मगर, वडा सदस्य ओमसरा बुढा मगर, वडा सदस्य अर्जुन बुढा मगर, वडा सदस्य कल्पना परियार, परिवर्तन गाउँपालिकाका पोषण सहजकर्ता अनिशा घर्ती मगर, परिवर्तन गाउँपालिका–६ का कृषि प्राविधिक विपना घर्ती मगर, स्वास्थ्य चौकी नाफेका अनमी समिता बुढा मगर र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोल्बोट नाफेका लेखापाल भरत पुन मगर लगायतको आतिथ्यता रहेको थियो ।
दुई बर्ष मुनीका करिब ५० जना हजार दिने आमाहरुलाई सिमी, तित्ते करेला, भिन्डी, लौका, टमाटर, खुर्सानी, काउली, काँक्रो, मार्फासाँग, थोपा सिचाई र ट्रनेल वितरण गरिएको हो । कार्यक्रमको महत्त्व र उद्देश्यको बारे प्रकाश पार्दै परिवर्तन गाउँपालिकाका पोषण सहजकर्ता अनिशा घर्ती मगरले यो कार्यक्रम ७ सय ५३ स्थानीय तहहरुमै सञ्चालन हुँदै आएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश तथा युनिशेफको आर्थिक सहयोग र परिवर्तन गाउँपालिकाको सातवटै शाखाको समन्वयमा पोषण सम्बन्धि कार्यक्रम सञ्चालन भइरहेको बताइन् भने विषेश गर्भवती आमाहरुको स्वास्थ्य अवस्थालाई थप स्वस्थ राख्न मदत गर्ने बताइन् । साथै जन्म भइसकेका आमा र बच्चाहरुको स्वास्थ्यलाई थप निरोगी बनाउनुको साथै कुपोषण मुक्त बनाउनमा सहयोग पुर्याउने उनको भनाई थियो ।
त्यस्तै बिउ भिजन कसरी लगाउने, कसरी बढाउने र कसरी फलाउने भन्ने बारेमा परिवर्तन गाउँपालिका–६ का पशु प्राविधिक विपना घर्ती मगरले प्रस्ट्याएकी थिइन् । उनले विषेश माटो, मल र ट्रनेल निर्माणमा ध्यान दिन समेत आग्रह गरिन् । गर्मी समयमा थोपा सिचाई प्रविधिलाई ध्यान दिन समेत उनले आग्रह गरेकी छन् । कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका–६ का वडा सचीव हिरामणी रोका मगरले गरेका थिए ।
प्रतिक्रिया