Logo

Breaking News 1

सिद्धिचरण श्रेष्ठको सम्झनाः राष्ट्रबादले ओतप्रोत कवि



काठमाडौं । सिद्धिचरण श्रेष्ठलाई त भावनाको गुरु ठान्छु । सिद्धिचरणको २०७९ साल जेष्ठ ९ गते १११ औं जन्म जयन्ती हो । सिद्धिचरण श्रेष्ठमा म श्रद्धाञ्जलि अर्पण गर्दछु ।

सिद्धिचरण श्रेष्ठसँग मेरो पहिलो भेट २०२४ सालमा राजकीय प्रज्ञा प्रतिष्ठानमा भएको थियो, जहाँ बालकृष्ण सम, गोपाल पाण्डे ‘असीम’ भवानी भिक्षुक एकआपसमा राष्ट्रिय दृष्टिकोणको चुरो खोज्नमा व्यस्त रहन्थे । साहित्य भनेको परिस्थितिको उपज हो ।
बालकृष्ण सम, गोपाल पाण्डे, भीमनिधि तिवारी, युगकवि सिद्धिचरणसँग मेरो नजिकको सम्बन्ध रहँदै आयो । युगकवि अत्यन्त सरल देशभक्त हुनुहुन्थ्यो । उहाँको व्यवहार, चरित्र र मिहिनेतबाट म साहै्र प्रभावित भएको छु । राष्ट्रलाई निर्धारित बाटो दिन नसके तापनि नेपालका स्वाभिमान कायम राख्न नेपालमा हिजोका साहित्यकारको सिर्जनात्मक जागरणले अहिलेसम्म हामीले खुट्टा टेक्न पाएका छौं ।

लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, भवानी भिक्षु, भीमनीधि तिवारी, धर्मराज थापा, धरणीधर कोइराला, महानन्द सापकोटा, सिद्धिचरण श्रेष्ठसँग जसले संगत गरेको छ, त्यसले यो राष्ट्रलाई कहिले पनि धोका दिन सक्तैन । बालकृष्ण सम अतुलनीय प्रतिभाका धनी हुनुहुन्थ्यो । २०२४ सालदेखि समजीसँग संगत गरेर धेरै उपलब्धि हासिल गरें । त्यस्तै सिद्धिचरण श्रेष्ठलाई त भावनाको गुरु ठान्छु ।

२४ मंसिर २०२४ मा सिद्धिचरण श्रेष्ठले मेरो अटो–डायरीमा लेख्नु भएको थियो, ‘संकट पर्दछ मानिसलाई ढुंगालाई के हुन्छ, असिना आई फूलबारीकै फूलहरू पहिले झार्छ । जसको छाती जति विशाल त्यत्ति नैं संकट उसलाई, गोली लाग्दछ बापूलाई नै केही हुँदैन अरूलाई ।’ यो मौलिक कविता सबैको प्रेरणाको स्रोत हुन सक्छ ।

कवि सिद्धिचरणको अर्को कविताले भन्छ, ‘हिमगिरी– मन्दित, सुगन्ध– स्वभित जय जय आमा नेपाल † आर्य, अनार्य, बौद्ध र हिन्दू मिश्रित हाम्रो देश विशाल । कोसी, गण्डकी, कर्णालीको नृत्य सरल कलकल गान, जागृत क्षणको माया विम्बित उच्च कलाले चुम्वित प्राण ।’ सिद्धिचरण श्रेष्ठका कविता पे्ररणाका स्रोत हुन् । सिद्धिचरण श्रेष्ठ राष्ट्रवादका शिखर मात्र नभएर उनी प्राकृतिक स्वभावका प्रतिभाशाली व्यक्ति हुन् ।

युगकवि सिद्धिचरणका कविता राष्ट्रिय जागरणप्रति प्रतिविम्बित छन् । उहाँको ‘हिमगिरी मन्दित, सुगन्ध, स्वभित, जय जय आमा नेपाल’ राष्ट्रिय भावधाराले युक्त छन् ।

संस्कृतका एकजना धुरन्धर कविले भनेका छन्, ‘कवि करोेती काव्यानि, रस जानन्ति पंडिता’ कविले काव्यको रचना गर्दछन्, त्यसको रस विद्वानहरूले लिन्छन् । सिद्धिचरण श्रेष्ठका कविता पनि घटना र काण्डहरूको वेदीमा स्फुटन भएका हुन् । १९९७ सालको काण्डदेखि जेलमा परेको बेलामा लेखिएको कविताले राणा शासनको निरंकुशताको इंकित गर्छ, ‘विखालु किट जन्मेर फैलाए रोग बेगिन्ती, स्वदेशी हुन् भनी खाली नमारौं के किरालाई ?’
(दीर्घराज प्रसाईका आफना भनाई)

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ११ : ४१ बजे