Logo

कांग्रेस महाधिवेशन : महिला प्रतिनिधिका आफ्नै गुनासा, हजारी वादी के भन्छिन् ?

२० आश्विन २०८३, मंगलबार  

0
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय राजनीतिमा महिलाहरुको सक्रियता बढेपनि अवसरबाट बन्चित हुनुपरेको महिलाहरुको गुनासो छ ।  

मुलुकको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौंमा चलिरहँदा देशभरबाट आएका महिला प्रतिनिधिहरुको नेतृत्वसँग समान सहभागिताको माग अघि सारेका छन् ।

कैलाली क्षेत्र नम्बर १ की नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि केशरी विष्ट रावलले महिलामा महाधिवेशनप्रति उत्साह बढे पनि भूगोल र पहुँचका कारण दूरदराजका महिलालाई केन्द्रीय समितिमा पुग्न अझै कठिनाइ रहेको बताइन् ।

उनले भनिन्, ‘महिलाहरु उत्साहित छन, विधान समावेशी पनि छ । तर दूरदराजका महिलाहरूलाई अझै पनि सेन्ट्रल कमिटीमा आउन सकिरहेका छैनन् । भूगोलले टाढा भएको, पिछडिएको ठाउँका महिलाहरूलाई महाधिवेशन भनेको के हो भन्ने कुरा पनि अझै पनि थाहा छैन ।’

रावलले पार्टीको संगठन र संरचनाबारे ग्रामीण तथा पिछडिएका क्षेत्रका धेरै महिलालाई अझै पर्याप्त जानकारी नभएको बताइन् । निरन्तर पार्टी संगठनमा काम गरिरहेका महिलालाई भने पार्टीको नीति, संरचना र संगठन निर्माणबारे अनुभव रहेको उनले उल्लेख गरिन् ।

उनले राष्ट्रियता, लोकतन्क्र र समाजवादका लागि लामो समयदेखि संगठन निर्माण र राजनीतिक गतिविधिमा सत्रिय महिलालाई अवसरबाट वञ्चित गर्न नहुने बताइन् ।

यसैगरी, सिन्धुलीबाट आएकी प्रतिनिधि बालकुमारी श्रेष्ठले महिलालाई समावेशी ढंगले नेतृत्वमा अघि बढाउन पार्टीले प्राथमिकता दिएको भन्दै खुसी व्यक्त गरेकी गरिन । उनले महिलासँग आफ्नै महत्वपूर्ण एजेन्डा हुने भएकाले उनीहरूको आवाज नेतृत्व तहबाटै उठाउनुपर्ने बताइन् ।

यसैगरी, जाजरकोटबाट आएकी प्रतिनिधि हजारी नेपाली वादीले कर्णालीमा अझै पनि महिलाहरू शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चारलगायत आधारभूत पहुँचबाट वञ्चित रहेको बताइन् ।  

उनले महिलालाई चुलोचौकोमै सीमित राख्ने अवस्थाको अन्त्य गर्दै राजनीतिक नेतृत्वमा अघि बढाउनुपर्ने बताइन् । उनले देशभरबाट वादी समुदायको प्रतिनिधित्व गर्ने आफू एकल उम्मेदवार भएपनि पार्टीभित्रको आन्तरिक परिस्थितिका कारण आफ्नो उम्मेदवारी सफल हुन नसकेको बताइन् ।

वादी समुदायबाट अहिलेसम्म कांग्रेसको केन्द्रीय समितिमा प्रतिनिधित्व हुन नसकेको बताउँदै उनले आगामी दिनमा आफ्नो समुदायको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताइन् ।

यस्तै, सप्तरी क्षेत्र नम्बर २ की महाधिवेशन प्रतिनिधि ललिता कुमारी शाहले पछिल्लो समय महिलाको राजनीतिक सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको प्रतिक्रिया दिइन ।

उनले पत्रकारिता, व्यापार र शिक्षालगायत क्षेत्रमा जस्तै पछिल्ला वर्षमा महिलाहरू राजनीतिमा पनि सक्रिय रूपमा आउन थालेको बताइन् । विशेषगरी युवा महिलाहरू कांग्रेसको लोकतान्त्रिक विचारधाराबाट प्रभावित भएर स्वतःस्फूर्त रूपमा राजनीतिमा प्रवेश गरिरहेको उनले बताइन् ।

शाहले कांग्रेसको संशोधित विधानले युवा तथा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेकाले आगामी दिनमा राजनीतिमा महिलाको सहभागिता थप बढ्ने बताइन् ।

उनले ३५ वर्षमुनिका युवाको प्रतिनिधित्वमा तीन जनामध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्थाले पनि महिलालाई नेतृत्वमा पुग्ने अवसर बढाएको उल्लेख गरिन् ।

उनले मधेसमा सामाजिक तथा पारिवारिक कारणले महिलालाई राजनीतिमा आउन अझै केही कठिनाइ रहे पनि विधानले सुनिश्चित गरेको समावेशी व्यवस्थाका कारण महिलाको राजनीतिक सहभागिता तीव्र रूपमा बढिरहेको बताइन् ।