Logo

मुख्य समाचार

सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार



काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार गरिएको हो । यससँगै सुरुङबाट जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ ।

बाढीपछि सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले सुरुङभित्र प्रवेश गरी फसेका व्यक्तिहरूको खोजी तथा उद्धार गरिरहेको छ ।

आज बिहान खोजीका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका थिए ।

उक्त संकेतका आधारमा उद्धार टोलीले खोजी तीव्र पारेको थियो । त्यसक्रममा थप एक जनालाई जीवितै बाहिर निकालिएको हो ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  १० : २० बजे