काठमाडौं । युरोपेली युनियन (ईयू)ले नेपालका बाढी प्रभावित समुदायका लागि थप ८ करोड ९० लाख रुपैयाँबराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । यससँगै बाढीपछिको आपत्कालीन प्रतिकार्यका लागि ईयूको कुल आर्थिक सहायता ४४ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
ईयूको नयाँ सहयोग नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी)ले सञ्चालन गरिरहेको विपद् प्रतिकार्य आपत्कालीन कोष (आरईएफ)मार्फत परिचालन गरिने जनाइएको छ ।
नेपालस्थित ईयू प्रतिनिधिमण्डलका अनुसार उक्त अभियानअन्तर्गत वाग्मती प्रदेशका करिब ४ हजार घरपरिवारका २० हजारसम्म प्रभावितलाई आपत्कालीन तथा अस्थायी आवास, नगद सहायता, खानेपानी तथा सरसफाइ, स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श र संरक्षणसम्बन्धी सहायता उपलब्ध गराइनेछ ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो । बाढीका कारण घर, पूर्वाधार तथा अत्यावश्यक सेवामा व्यापक क्षति पुगेपछि ईयूले थप सहायता घोषणा गरेको हो ।
यसैबीच, कोपेनहेगेनस्थित ईयूको आपत्कालीन मौज्दातबाट ८० टनभन्दा बढी राहत सामग्री नेपाल पठाइने भएको छ । उक्त राहत सामग्री बोकेको उडान यसै साताको उत्तरार्धमा नेपाल आइपुग्ने ईयू प्रतिनिधिमण्डलले जनाएको छ ।








प्रतिक्रिया