Logo

मुख्य समाचार

चन्द्र भण्डारीले बालेनलाई लेखे यस्तो मार्मिक पत्र



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई विपद्को संकटका बेला उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन आग्रह गर्दै मार्मिक खुला पत्र लेखेका छन्।

भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न संकटका बीच भण्डारीले सरकारको नेतृत्वमा उद्धार तथा राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

उनले संघीय सरकारले नीति, अनुगमन तथा स्रोत–साधन जुटाउने र स्थानीय तह, सम्बन्धित क्षेत्रका जनप्रतिनिधि तथा राज्यका सबै अंगलाई वितरण, व्यवस्थापन र कार्यान्वयनको जिम्मेवारी दिनुपर्ने सुझाव दिएका छन्।

उद्धारका लागि खटिएका सुरक्षाकर्मीलाई आवश्यक सबै सहयोग उपलब्ध गराउनुपर्ने भन्दै उनले उद्धारमा अवरोध हुने गरी फोटो तथा भिडियो खिचेर प्रचार गर्नेहरूलाई प्रभावित क्षेत्रबाट हटाउनुपर्ने बताएका छन्।

सहयोगका लागि स्रोत–साधनसहित स्वेच्छाले उपस्थित हुने संघ–संस्था तथा व्यक्तिलाई स्वागत गरी उनीहरूको क्षमता र योगदानअनुसार काम गर्ने ठाउँ र जिम्मेवारी तोक्नुपर्ने उनको सुझाव छ। विगतका विपद्का समयमा काम गरेका अनुभवी व्यक्तिसँग समेत छलफल गरेर उनीहरूको अनुभव उपयोग गर्नुपर्ने भण्डारीले बताएका छन्।

बालबालिका, अपाङ्गता भएका तथा असहाय व्यक्तिको दीर्घकालीन संरक्षण, शिक्षा, स्वास्थ्य र पुनःस्थापनाका लागि विशेष सेवा केन्द्र स्थापना गर्नुपर्ने विषय पनि उनले उठाएका छन्। त्यसका लागि उपलब्ध जग्गालाई मानव सेवामा प्रयोग गर्न सकिने र त्यस्ता केन्द्रलाई मानव सेवामा योगदान गरेका व्यक्तित्वको नाममा सञ्चालन गर्न सकिने उनले उल्लेख गरेका छन्।

त्यस्तै, विपद्को समयमा यातायातका साधनको भाडा बढाउने तथा कालोबजारी गर्ने कार्य तत्काल नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन्।

सुरुङभित्र फसेका व्यक्तिको उद्धारमा ढिलाइ नगर्न आग्रह गर्दै भण्डारीले प्रधानमन्त्रीले संसद्मा दिएको जवाफ आफूले सुनेको र समस्या सरकारलाई जानकारी रहेको बताएका छन्। अब उद्धार कार्यलाई तीव्रता दिनुपर्ने उनको जोड छ।

लोकतन्त्रमा असहमति अपराध नभएको उल्लेख गर्दै उनले असहमति सुन्ने संस्कार नै लोकतन्त्रको शक्ति भएको बताएका छन्। आफूले राखेका सुझाव सरकारको आलोचनाका लागि नभई कामलाई अझ राम्रो र छिटोछरितो बनाउनका लागि भएको भण्डारीले स्पष्ट पारेका छन्।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ८ : ४५ बजे