Logo

समाचार

बाढी प्रभावित जलविद्युत आयोजनामा ८९८ जना सम्पर्कविहीन



काठमाडौं । रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले जनाएको छ।

इप्पानका अनुसार रसुवामा मात्रै विभिन्न ६ वटा जलविद्युत आयोजनाका ७३० जना सम्पर्कविहीन छन्। नुवाकोटका ५ वटा आयोजनामा १६८ जना सम्पर्कविहीन रहेका छन्।

रसुवामा माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा सबैभन्दा धेरै ५७६ जना सम्पर्कविहीन छन्। तीमध्ये २५४ जनाको उद्धार भइसकेको र करिब ३०० जना सुरूङभित्र फसेको इप्पानले जनाएको छ।

त्यस्तै, रसुवागढी जलविद्युत आयोजनामा ९३ जना, लाङटाङ खोलामा ४२ जना, चिलिमेमा ८ जना, मैलुङ खोलामा ७ जना र रसुवा–भोटेकोशी आयोजनामा ४ जना सम्पर्कविहीन छन्। लाङटाङ खोलाका १८ जनाको उद्धार भए पनि २५ जना अझै सुरूङभित्र फसेका छन्। मैलुङ खोलाका ७ जना पनि सुरूङभित्रै रहेको जनाइएको छ।

नुवाकोटमा माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा १२२ जना सम्पर्कविहीन छन्। तीमध्ये ११ जनाको उद्धार गरिएको छ।

त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ४२ जना, मिडल त्रिशूली गंगामा २ जना, त्रिशूली जलविद्युत आयोजनामा १ जना र देवीघाट जलविद्युत आयोजनामा १ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।

इप्पानका अनुसार बाढीपछि आयोजनास्थलमा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ८ : ५४ बजे