काठमाडौं । अविरल वर्षा, बाढी तथा पहिरोको जोखिमका कारण काठमाडौं जोड्ने प्रमुख नाकासहित देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान सडकको अवस्था सार्वजनिक गर्दै यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रहरीका अनुसार बाढीको सम्भावित जोखिमका कारण काठमाडौंको नागढुङ्गादेखि मुग्लिङ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ । यस्तै, रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् भने त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीले गर्दा लामो समयसम्मका लागि सडक बन्द भएको छ । उता कोशी प्रदेशअन्तर्गत मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवाली (झापा–ताप्लेजुङ सडक खण्ड) मा वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ ।
यसैगरी, सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । बिपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था हेरेर मात्र सवारी चल्न दिइएको छ ।
त्यस्तै कान्तिलोकपथ (हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर) सडक खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म र नुवाकोटस्थित टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया