काठमाडौं । नेपाली कांग्रेसले महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजनागरी नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा एकदिने सम्मेलन आयोजना हुन लागेको जानकारी दिएको हो ।
आयोजकको अनुसार सम्मेलनमा १० हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा विशेषगरी स्टार्टअप, एमएसएमई तथा एसएमई क्षेत्रमा कार्यरत महिला उद्यमीबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक नेटवर्किङका विषयमा छलफल गरिने आयोजकले जनाएको छ।
सम्मेलनसँगै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत आयोजना गरिनेछ। प्रदर्शनीमार्फत महिला उद्यमीले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर पाउनेछन्।
त्यस्तै, सम्मेलनमा बीटुबी तथा बीटुसी नेतवर्कलाई प्राथमिकता दिइनेछ। यसले महिला उद्यमीलाई नयाँ ग्राहक, व्यावसायिक साझेदार, लगानीकर्ता तथा बजारसँग जोडिन सहयोग पुग्ने आयोजकको विश्वास छ।
एकदिने सम्मेलनमा महिला उद्यमीले भोगिरहेका चुनौती, सम्भावना र अवसरका विषयमा बहुआयामिक छलफल गरिनेछ। सम्मेलनमा महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता तथा समुन्नत समाज निर्माणमा योगदान पु¥याउने विषयमा समेत छलफल हुने जनाइएको छ ।
सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल सञ्चालन गरिनेछन्। प्यानलमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्व सहभागी हुनेछन्।
त्यस्तै, सम्मेलनको विशेष आकर्षणका रूपमा ‘मेरो उद्यमशील यात्रा’ नामक स्टोरी टेलिङ सेसन सञ्चालन गरिनेछ।
उक्त सत्रमा सफल महिला उद्यमीले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता तथा सिकाइ प्रत्यक्ष रूपमा साझा गर्नेछन्।
कार्यक्रममा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्रसमेत सञ्चालन गरिनेछ। केन्द्रमार्फत व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका लागि उपलब्ध अवसरबारे महिला उद्यमीलाई जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।
सम्मेलनको समापनमा महिला उद्यमशीलतासँग सम्बन्धित प्रमुख सुझाव, प्रतिबद्धता तथा आगामी कार्यदिशालाई समेटेर ‘सानेपा डिक्लियरेसन अन वमन इन्टरपेर्नरसिप’ घोषणा गरिनेछ।
सम्मेलन नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तथा नेपाल महिला संघको सहकार्यमा हुन लागेको हो। कार्यक्रम बिहान ८ बजेदेखि अपराह्न ६ बजेसम्म सञ्चालन हुनेछ।








प्रतिक्रिया