काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि नौ सिटसम्मका निजी सवारीसाधनका लागि खुला गरिएको छ। परीक्षणका रूपमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कार, जीप र भ्यानलगायत निजी सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिइएको हो।
नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार तत्कालका लागि आपत्कालीन सवारी, एम्बुलेन्स, सरकारी सवारी तथा नौ सिटसम्मका निजी सवारीलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको छ। निजी सवारीबाट हाल कुनै शुल्क नलिने व्यवस्था गरिएको छ।
सुरुङमार्ग परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको र एक सातासम्म यसको प्रयोग तथा चालकको अनुभवबारे अध्ययन गरिने श्रेष्ठले बताए। परीक्षणबाट प्राप्त विवरणका आधारमा अन्य सवारीसाधनलाई पनि क्रमशः सुरुङमार्ग प्रयोग गर्न दिने तयारी गरिएको छ।
सुरुङमार्गभित्र सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर निर्धारण गरिएको छ। सवारी चलाउँदा हेडलाइट बाल्नुपर्ने, सुरुङभित्र सवारी रोक्न तथा ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ।
सोमबारदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटोसमेत सञ्चालनमा ल्याइएको सुरक्षा युनिटले जनाएको छ।
करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन ११ गते उद्घाटन गरिएको थियो। शिलान्यास भएको सात वर्षपछि सुरुङमार्ग उद्घाटन गरिएको हो। मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २.५५७ किलोमिटर छ।
सुरुङमार्गमा पैदलयात्री, दुईपांग्रे सवारीसाधन तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ।
नियमित सञ्चालनमा आएपछि सुरुङमार्ग प्रयोग गरेबापत कार तथा भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनिबस र टिपरले भित्रिँदा ११५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले क्रमशः २६० र २०० रुपैयाँ तथा हेभी ट्रकले भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ।








प्रतिक्रिया