Logo

Breaking News 1

कर्णालीमा नेकपाबाट तीन मन्त्री टुंग्याउन बैठक बस्दै



सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट तीन मन्त्रीको नाम टुंगो लगाउन आज बैठक बस्दै छ ।

नेकपा र नेकपा एमालेबिचको सत्ता समीकरणअनुसार कर्णालीमा दुवै दलबाट तीन–तीन जना मन्त्री सरकारमा सहभागी हुने सहमति भएको छ । यसअघि बुधबार एमालेका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । 

नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री रहेको कर्णाली सरकारमा अब नेकपाबाट तीन मन्त्री सहभागी हुन बाँकी छन् । नेकपाका नेता कालीबहादुर मल्लका अनुसार आज बस्ने बैठकले मन्त्रीको नाम टुंगो लगाउने छ ।

‘आज नै मन्त्रीको नाम टुंगो लाग्छ,’ नेता मल्लले भने । यसअघि एमालेबाट जुम्लाका टेकराज पछाई आर्थिक मामिला तथा योजना, मुगुका जीतबहादुर मल्ल सामाजिक विकास र हुम्लाका कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकास मन्त्री नियुक्त भएका छन् ।

नेकपा र एमालेबिच भएको सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढेको हो । नेकपाबाट मन्त्रीको नाम टुंगिएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । हेमन्त केसी, नेपाल न्यूज बैंक

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ९ : ०२ बजे