त्रिशूली (नुवाकोट) । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १०ः०० देखि बिहान ५ः०० बजेसम्म यातायात बन्द गरिएको हो ।
शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
भदौ १ गते रातिदेखि लागू भएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ । प्रमुख जिल्ला अधिकारी रेग्मीले जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरी एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने बताए ।








प्रतिक्रिया