Logo

Breaking News 1

जाजरकोटमा पहिरो : २ जनाको मृत्यु, ६ घाइते, २ बेपत्ता



जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायत विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा टहरा भत्किनुका साथै केही परिवार विस्थापित भएका छन् । घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोज तथा उद्धारमा परिचालन गरिएको छ ।

पहिरोमा परी भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा साउन ३१ गते बिहान ४ः५० बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यसअघि भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा बिहान ८ः५५ बजे मृत फेला परेका थिए ।

घटनामा भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज हुँदै मेडिकल कलेज कोहलपुर लगिएको छ ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि उनलाई साउन ३१ गते बिहान ७ः१५ बजे थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन् । उनको जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

यस्तै, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदराको टाउकोमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

पहिरोबाट जोगिन भाग्ने क्रममा भेरी नगरपालिका–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ की करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरा जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३० गते राति १२ बजे डिस्चार्ज भएका छन् ।

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा भने हाल मानिस बस्दै आएका थिएनन् ।

पहिरोको जोखिममा रहेका भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित राखिएको छ ।

यस्तै, झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जनालाई गरी थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोका कारण विभिन्न स्थानमा सडक तथा बाटो अवरुद्ध रहेकाले सुरक्षाकर्मीले जोखिमका बीच पैदलमार्फत घटनास्थल पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै विस्थापित परिवारको व्यवस्थापन र थप क्षतिको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १० : ३५ बजे