Logo

Breaking News 1

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध


२९ श्रावण २०८३, शुक्रबार  

23
Shares

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने विपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै राति १८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावत रोक लगाइएको छ । बिहान ४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुने जनाइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति सवारीसाधनको आवतजावत रोकिएको छ । उक्त सडकमा बेलुका १७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

उक्त स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा छ । सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकुमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेशी जाने कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १० : २८ बजे