काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ ।
हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यसैगरी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।








प्रतिक्रिया