रोजिना प्रधान राई
उपाध्यक्ष
गैर आवासीय नेपाली संघ (एनआरएनए)
काठमाडौं । दुई तिहाइ नजिकको सरकारप्रति गैर आवासीय नेपालीहरु बढी आशावादी छन् । वर्षौंदेखि ओझेलमा पारिएका र अल्झाएर राखिएका आफ्ना मुद्दाहरु पूरा हुने विश्वासमा पनि छन् । गैर–आवासीय नेपाली संघ (एनआरएनए)की उपाध्यक्ष रोजिना प्रधान राई आफ्नै तिनै माग र मुद्दाका फाइलहरु बेकेर काठमाडौंमा दौडधुप गरिरहेकी छिन् । विषयबस्तुबारे मन्त्रीहरुलाई बुझाउन र सम्झाउन रोजिनासहितको टोली सिंहदरबार ओहोरदोहोर गरिरहेका छन् ।
‘हाम्रा थुप्रै विषयहरु अझै अड्किरहेका छन् । सरकारी निकायकै टेबुलमा घुमिरहेका छन् । मुल कुरो नागरिकता पनि हो । गैर–आवासीय नेपाली नागरिकतालाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक ऐन तथा कानुन तत्काल निर्माण गर्न सरकारसँग निरन्तर पहल गरिरहेका छौं,’ रोजिनाले भनिन्, ‘संविधानले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित गैर–आवासीय नेपाली नागरिकताको व्यवस्था गरे पनि आवश्यक कानुनी संरचना तयार नहुँदा विदेशमा रहेका नेपालीले अझै पनि त्यसको प्रत्यक्ष लाभ लिन सकिरहेका छैनन्, हामी अधिकार दिलाउने प्रक्रियामा छौं ।’
उनका अनुसार एनआरएनएले सरकारसमक्ष तीन चरणमा आफ्ना माग अघि सारेको छ। पहिलो चरणमा मन्त्रिपरिषद्को निर्णयबाट तत्काल कार्यान्वयन गर्न सकिने व्यवस्था लागू गर्न, दोस्रो चरणमा गैर–आवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक चाँडो पारित गर्न तथा तेस्रो चरणमा ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने अवधारणालाई संवैधानिक रूपमा थप सुनिश्चित गर्नुपर्ने माग राखिएको छ ।
उनले भनिन्, ‘२०७२ सालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर–आवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ। तर दुर्भाग्यवश त्यसलाई कार्यान्वयन गर्ने ऐन र कानुन बन्न सकेको छैन। ऐन नबनेसम्म संविधानले दिएको अधिकार व्यवहारमा लागू हुन सक्दैन।’
राईका अनुसार संघले पहिलो चरणमै तत्काल समाधान गर्न सकिने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। विशेषगरी राष्ट्रिय परिचयपत्र (एनआईडी) नभए पनि बैंक खाता सञ्चालन गर्न पाउने व्यवस्था, सम्पत्ति खरिद–बिक्री, अंश तथा अपुताली नामसारी, डिम्याट खाता सञ्चालन, सवारी साधन खरिदलगायतका विषय मन्त्रिपरिषद्को निर्णयबाटै सहज बनाउन सकिने भएकाले ती विषयलाई प्राथमिकतामा राखिएको उनले बताइन्।
उनले भनिन्, ‘हामीले सरकारलाई सम्पत्ति किन्न–बेच्न पाउने, अंश र अपुताली नामसारी गर्न पाउने, डिम्याट खाता खोल्न पाउने, सवारी साधन खरिद गर्न पाउने लगायतका विषय तत्काल मन्त्रिपरिषद्बाट पास गर्दिनु भनेर हामीले एउटा प्रपोजल दिएका छौँ।’
उनले गैर–आवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकलाई यथाशीघ्र संसद्बाट पारित गर्नुपर्नेमा पनि जोड दिइन्। उनका अनुसार परराष्ट्र मन्त्रालयले तयार पारेको प्रारम्भिक मस्यौदामाथि एनआरएनएका पदाधिकारीसँग विस्तृत छलफल भएको थियो। त्यस क्रममा आफूहरूलाई प्रारम्भिक मस्यौदालाई अन्तिम नठानी आवश्यक सुझाव दिन आग्रह गरिएको र त्यसपछि संघले आफ्नो विस्तृत प्रस्ताव सरकारलाई बुझाएको जानकारी दिइन्।
‘अन्तिम मस्यौदा होइन, पहिलो ड्राफ्ट मात्रै हो भनेर सुझाव मागिएको थियो। त्यसपछि हामीले पाँच दिनभित्र आफ्नो अध्ययन गरेर संशोधनसहितको प्रस्ताव बुझायौँ। अहिले त्यो कानुन मन्त्रालयलगायत सम्बन्धित निकायमा छलफलको क्रममा रहेको छ,’ उनले भनिन्।
सरकारले एकीकृत ऐन ल्याउने विषयमा पनि छलफल गरेको जानकारी आफूहरूले पाएको उल्लेख गर्दै उनले प्रक्रिया केही लम्बिए पनि अन्ततः गैर–आवासीय नेपाली नागरिकताको कानुन आउनेमा आफूहरू आशावादी रहेको बताइन्।
उनले भनिन्, ‘पटक पटकको पहलपछि पनि ढिला हुँदा निराश बनाएको छ । सय दिनको कार्यक्रम आयो, १२ बुँदे निर्णय आयो, तर हाम्रो विषय समेटिएन। त्यसले विदेशमा रहेका नेपालीमा प्रश्न उठ्नु स्वाभाविक हो। तर सम्बन्धित निकायबाट सकारात्मक आश्वासन पाइरहेका कारण अझै पनि सकारात्मक छौँ।’
राईले एनआरएनएको स्थापना कालदेखि नै वंशजको नागरिकताको निरन्तरता संस्थाको मूल एजेन्डा रहेको बताइन्। उनका अनुसार ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने अभियान कुनै नयाँ विषय नभई संस्था स्थापना भएदेखि नै उठाउँदै आएको मुद्दा हो।
उनले भनिन्, ‘नेपालमा जन्मिएको वा वंशजको नेपाली कहिल्यै गैरनेपाली हुँदैन भन्ने हाम्रो मूल मान्यता हो। त्यसैले वंशजको नागरिकताको निरन्तरता स्थापना कालदेखिकै एजेन्डा हो।’
यद्यपि सबै देशमा दोहोरो नागरिकताको कानुनी व्यवस्था समान नभएकाले एउटै मोडलले सबै समस्या समाधान नहुने उनले बताइन्। अमेरिका, बेलायत र क्यानडाजस्ता मुलुकमा दोहोरो नागरिकताको व्यवस्था भए पनि जर्मनीलगायत केही देशमा स्थानीय नागरिकता लिन नेपाली नागरिकता त्याग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
‘जहाँ ड्युल सिटिजन स्वीकार गरिन्छ, त्यहाँ वंशजको नागरिकताको निरन्तरता सहज हुन्छ। तर केही देशमा स्थानीय नागरिकता लिन नेपाली नागरिकता त्याग्नैपर्छ। त्यस्ता व्यक्तिका लागि पनि आफ्नो नेपाली पहिचान जोगाउने व्यवस्था हुनुपर्छ,’ उनले भनिन्।
उनका अनुसार त्यस्ता नागरिकका लागि गैर–आवासीय नेपाली नागरिकता वा एनआरएन कार्ड आवश्यक हुन सक्छ। साथै धेरै पुस्ताअघि विदेश बसाइँ सरेका नेपाली मूलका व्यक्तिका लागि पनि छुट्टै पहिचानको व्यवस्था गर्नुपर्ने उनले बताइन्।
‘आठ पुस्ताअघि विदेश गएका नेपालीका सन्तानले पनि आफू नेपाली भएको गर्व गर्छन्। उनीहरू अझै नेपाली भाषा, संस्कृति र पशुपतिनाथसँग भावनात्मक रूपमा जोडिएका छन्। त्यस्ता व्यक्तिका लागि पनि कुनै न कुनै प्रकारको नेपाली पहिचान दिने व्यवस्था हुनुपर्छ,’ उनले भनिन्।
लगानीमा झन्झट
नेपालमा लगानी गर्न चाहने गैर–आवासीय नेपालीले अझै पनि धेरै प्रशासनिक झन्झट भोग्नुपरेको उल्लेख गर्दै राईले लगानीमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्। स्वयं व्यवसायीसमेत रहेकी उनले विदेशबाट पूँजी नेपाल ल्याउने, नेपालमा लगानी गर्ने तथा लगानीको प्रतिफल पुनः विदेश लैजाने प्रक्रियामा अझै धेरै जटिलता रहेको बताइन्।
‘म आफैँ पनि व्यवसायी हुँ। नेपालमा लगानी गर्दा अझै धेरै अप्ठ्यारा छन्। पैसा ल्याउन गाह्रो छ, लगानी गर्न गाह्रो छ, लगानीको प्रतिफल बाहिर लैजान पनि विभिन्न समस्या छन्। त्यसैले हामीले वान डुअर सिस्टम लागू गर्न सरकारसँग आग्रह गरेका छौँ,’ उनले भनिन्।
एकताको यात्रा
गैर–आवासीय नेपाली संघ (एनआरएनए)भित्र विगत केही वर्षदेखिको नेतृत्व विवाद अन्त्य गरी संस्था अहिले एकीकृत रूपमा अघि बढिरहेको उपाध्यक्ष राईले दावी गरिन् । विश्वभर फैलिएको संगठनमा नेतृत्वको आकांक्षा र आन्तरिक असमझदारीका कारण एक समय संस्था गम्भीर संकटमा पुगे पनि अहिले सबै पक्षलाई समेटेर एकताका साथ अघि बढिरहेको उनको दाबी छ।
उनका अनुसार सुरुमा एउटा सानो कोठाबाट सुरु भएको संस्था अहिले विश्वका ८५ भन्दा बढी देशमा फैलिसकेको छ। संस्था विस्तार भएसँगै नेतृत्व गर्ने आकांक्षा पनि बढ्दै गएको र त्यसकै परिणामस्वरूप संगठन विभाजनको अवस्थामा पुगेको उनले बताइन्।
उनले भनिन्, ‘एउटै परिवारमा पनि दाजुभाइबीच विचार फरक हुन्छ भने विश्वभरका यति धेरै देशका नेपाली एउटै संस्थामा हुँदा केही मतभेद हुनु स्वाभाविक थियो। संस्था ठूलो हुँदै जाँदा सबैलाई नेतृत्व गर्ने चाहना भयो। त्यसले एक समय निकै जटिल अवस्था सिर्जना गर्याे।’
राईका अनुसार नेतृत्व विवाद उत्कर्षमा पुग्दा एनआरएनएमा एकै समयमा चार–चार जना अध्यक्ष भएको अवस्था सिर्जना भएको थियो। त्यसले संस्थाको छवि र विश्वसनीयतामाथि प्रश्न उठाएको उनले स्वीकार गरिन्।
‘त्यो समय संस्था धेरै अप्ठ्यारो अवस्थामा पुगेको थियो। विभिन्न समूहले आ–आफ्नै नेतृत्व दाबी गरिरहेका थिए। अन्ततः सर्वोच्च अदालतको निर्देशनपछि सबै पक्ष एक ठाउँमा बसेर समाधान खोज्ने वातावरण बन्यो,’ उनले भनिन्।
उनका अनुसार त्यसपछि विभिन्न पक्षबीच सहमति गर्दै स्टेयरिङ कमिटी गठन गरिएको थियो। महेश श्रेष्ठ र डा. बद्री केसी नेतृत्वका समूहलाई एकीकृत गरेर नयाँ निर्वाचन सम्पन्न गरिएको र अहिले डा. हेमराज शर्माको नेतृत्वमा संस्था अघि बढिरहेको उनले बताइन्।
‘विगतको तिक्ततालाई बिर्सेर अहिले हामी सबै एउटै उद्देश्यका साथ काम गरिरहेका छौँ। संस्था अहिले एकीकृत छ र सबै देशमा गतिविधि सक्रिय रूपमा अघि बढिरहेका छन्,’ उनले भनिन्।
राईले अहिले एनआरएनएको काम केवल नेतृत्व चयनमा सीमित नभई विभिन्न विभागमार्फत विश्वभरका नेपालीको हितका लागि कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन्। उनका अनुसार वेलफेयर, श्रम, महिला, खेलकुद, युवा, कानुनी सहायता, लगानीलगायतका छुट्टाछुट्टै विभाग सक्रिय छन्।
‘हरेक विभागले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ। एसिया, युरोप, अमेरिका र ओसियाना सबै क्षेत्रमा सम्मेलन, छलफल र विभिन्न कार्यक्रम भइरहेका छन्। अहिले संस्था काममा केन्द्रित भएको छ,’ उनले भनिन्।
उनका अनुसार युरोप क्षेत्रीय सम्मेलन आयरल्यान्डमा आयोजना हुने तयारी छ भने एसिया क्षेत्रीय सम्मेलन चीनमा आयोजना हुँदैछ। यस्ता कार्यक्रमले विभिन्न देशमा रहेका नेपालीलाई एउटै मञ्चमा ल्याएर साझा मुद्दामा छलफल गर्ने अवसर प्रदान गर्ने उनले बताइन्।
दोस्रो पुस्तालाई नेपालसँग जोड्ने अभियान
विदेशमा जन्मिएका र हुर्किएका नेपाली मूलका दोस्रो पुस्तालाई नेपालको भाषा, संस्कृति र पहिचानसँग जोड्नु अहिले एनआरएनएको प्रमुख प्राथमिकतामध्ये एक रहेको राईले बताइन्।
उनका अनुसार पहिलो पुस्ताका नेपाली स्वाभाविक रूपमा नेपालसँग भावनात्मक रूपमा जोडिएका हुन्छन्। तर विदेशमै जन्मिएका उनीहरूका सन्तानलाई नेपालसँग जोड्न संस्थागत प्रयास आवश्यक पर्ने भएकाले एनआरएनएले विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ।
उनले भनिन्, ‘पहिलो पुस्ता आफैं नेपालसँग जोडिएको हुन्छ। तर दोस्रो पुस्तालाई भाषा, संस्कृति, संस्कार र नेपालको इतिहाससँग परिचित गराउनुपर्छ। अहिले त्यो हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी बनेको छ।’
यसका लागि युवा पुस्तालाई नेतृत्वमा ल्याउने उद्देश्यले छुट्टै संयोजक र समिति गठन गरिएको उनले जानकारी दिइन्। विभिन्न देशका युवालाई एउटै नेटवर्कमा जोडेर उनीहरूलाई नेपालको संस्कृति र पहिचानसँग परिचित गराउने अभियान सञ्चालन भइरहेको उनको भनाइ छ।
‘हामीले दोस्रो पुस्ताका युवालाई एनआरएनएमा सक्रिय बनाएका छौँ। उनीहरूलाई नेपालप्रतिको अपनत्व बढाउन भाषा, संस्कृति, कला र इतिहाससँग जोडिरहेका छौँ,’ उनले भनिन्।
उनका अनुसार जापान, बेलायत, स्कटल्यान्डलगायत विभिन्न देशमा नियमित रूपमा नेपाली मेला आयोजना गरिन्छ। ती कार्यक्रममा नेपाली खानाका परिकार, भेषभूषा, भाषा र विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति समेटिने गरेको उनले बताइन्।
‘राई समुदायले आफ्नो सांस्कृतिक नृत्य देखाउनुहुन्छ, नेवार समुदायले लाखे र कुमारी नाच प्रस्तुत गर्नुहुन्छ, तामाङ र गुरुङ समुदायले आफ्ना मौलिक संस्कृति प्रदर्शन गर्नुहुन्छ। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई नेपालसँग जोड्ने काम गरिरहेका छन्,’ उनले भनिन्।
राईले विदेशमा आर्जन गरिएको ज्ञान, सीप र अनुभव नेपालका लागि ठूलो पूँजी बन्न सक्ने बताइन्। विदेशमा शिक्षित भएका नेपाली युवालाई नेपालसँग जोड्न सके देशले दक्ष जनशक्ति प्राप्त गर्ने उनको धारणा छ।
उनले भनिन्, ‘विदेशमा बसेका युवाले त्यहाँको शिक्षा, सीप र अनुभव प्राप्त गरेका हुन्छन्। त्यो ज्ञानलाई नेपालसँग जोड्न सकियो भने त्यो हाम्रो देशका लागि ठूलो सम्पत्ति हुन्छ।’
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोग
एनआरएनएले वैदेशिक रोजगारीमा रहेका नेपालीको हितका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको राईले बताइन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायतका संस्थासँग सहकार्य गरेर श्रमिकका लागि अभिमुखीकरण, कानुनी परामर्श तथा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ।
उनले भनिन्, ‘विदेशमा पुगेपछि धेरै नेपालीले अपेक्षाभन्दा फरक अवस्था भोग्नुपर्छ। त्यहाँको कानुन, भाषा र कामको वातावरणबारे जानकारी नहुँदा विभिन्न समस्या आउने गरेका छन्। त्यसैले हामीले सम्बन्धित देशका एनआरएनए शाखामार्फत सहयोग गर्ने प्रयास गरिरहेका छौँ।’
विशेषगरी मानसिक स्वास्थ्य अहिले गम्भीर चुनौतीका रूपमा देखापरेको उनले बताइन्। विदेशमा एक्लोपन, कामको दबाब र पारिवारिक दूरीका कारण धेरै नेपाली मानसिक तनावमा पर्ने गरेको भन्दै एनआरएनएले नियमित अनलाइन परामर्श तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिइन्।
‘मानसिक स्वास्थ्य अहिले धेरै ठूलो विषय बनेको छ। हामीले आईएलओसँगको सहकार्यमा नियमित रूपमा अनलाइन प्रशिक्षण सञ्चालन गरिरहेका छौँ। विदेश जानुअघि र विदेश पुगेपछि पनि नेपालीलाई आवश्यक जानकारी दिने प्रयास भइरहेको छ,’ उनले भनिन्।
उनका अनुसार एनआरएनएले संयुक्त राष्ट्रसंघीय निकाय, विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा गैरसरकारी संस्थासँग सहकार्य गरेर महिला, श्रमिक र आपत्कालीन अवस्थामा परेका नेपालीलाई सहयोग गर्ने कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ।
‘हामीले गरेको काम धेरैलाई थाहा नहुन सक्छ। तर विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्मार्फत धेरै नेपालीलाई कानुनी, सामाजिक र मानवीय सहयोग उपलब्ध गराइरहेका छौँ। विदेशमा समस्या परेका नेपालीले आफ्नो देशको एनआरएनए शाखासँग सम्पर्क गरे हामी सकेसम्म सहयोग गर्छौँ,’ उनले भनिन्।
गैर–आवासीय नेपाली संघ (एनआरएनए)ले विश्वभर रहेका आफ्ना सदस्यलाई नेतृत्व चयन प्रक्रियामा सहभागी गराउन अनलाइन मतदान प्रणालीलाई प्राथमिकताका साथ अघि बढाएको उपाध्यक्ष रोजिना प्रधान राईले बताइन्। उनका अनुसार संघको विधान संशोधनपछि विश्वका जुनसुकै देशमा रहेका पञ्जीकृत सदस्यलाई नेतृत्व चयनमा सहभागी गराउने उद्देश्यले डिजिटल प्रणाली विकास गरिएको हो।
उनले भनिन्, ‘हामीले अहिले अनलाइन प्रणालीलाई प्राथमिकतामा राखेका छौँ। संसारभर रहेका पञ्जीकृत सदस्यले जहाँ बसे पनि आफ्नो नेतृत्व छान्न पाउने व्यवस्था गर्न खोजेका छौँ। विधानले पनि त्यसलाई स्वीकार गरिसकेको छ।’
राईका अनुसार प्रविधिको प्रयोगले संसारभर छरिएर रहेका नेपालीलाई संस्थाको निर्णय प्रक्रियासँग जोड्ने विश्वास लिइएको छ। भौगोलिक दूरीका कारण मतदानबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न अनलाइन प्रणाली प्रभावकारी माध्यम बन्ने उनले बताइन्।
उनले भनिन्, ‘आज संसारभर नेपाली फैलिनुभएको छ। सबैलाई नेपाल आएर मात्रै मतदान गर्न सम्भव हुँदैन। त्यसैले प्रविधिको प्रयोग गरेर सबैलाई सहभागी गराउने हाम्रो उद्देश्य हो।’
राईका अनुसार विदेशमा बस्ने नेपालीको संख्या बढ्दै गइरहेकाले उनीहरूको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्ने विषयलाई पनि राज्यले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ। प्रविधिको प्रयोगबाट विदेशमा रहेका नेपालीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन सकिने उनको भनाइ थियो।
भविष्यमा एनआरएनएको नेतृत्व सम्हाल्ने सम्भावनाबारे राईले अहिले आफ्नो सम्पूर्ण ध्यान उपाध्यक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नमा केन्द्रित रहेको बताइन्।
हालै सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएकाले सदस्यहरूले आफूलाई दिएको जिम्मेवारी पूरा गर्नु नै पहिलो दायित्व भएको उनले बताइन्। कामको मूल्याङ्कनपछि मात्रै नेतृत्वबारे सोच्ने उनले स्पष्ट पारिन्।
उनले आफ्नो कार्यकालमा गैर–आवासीय नेपाली नागरिकता, लगानी, दोस्रो पुस्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीको हित, महिला सहभागिता तथा विश्वभरका नेपालीलाई संस्थासँग जोड्ने कामलाई प्राथमिकता दिने बताइन्।
गैर–आवासीय नेपालीको अधिकार सुनिश्चित गर्नुका साथै नेपालमा लगानी, सीप र अनुभव भित्र्याउने वातावरण बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताइन्। विदेशमा रहेका नेपालीसँग आर्थिक स्रोत मात्रै नभई अन्तर्राष्ट्रिय अनुभव, ज्ञान र प्रविधि पनि रहेकाले त्यसलाई नेपालको विकासमा उपयोग गर्न सकिने उनले उल्लेख गरिन्।
राईले विश्वभर रहेका गैर–आवासीय नेपालीलाई एनआरएनएको गतिविधिसँग जोडिन आग्रह गर्दै समस्या पर्दा सम्बन्धित देशको राष्ट्रिय समन्वय परिषद्सँग सम्पर्क गर्न पनि अनुरोध गरिन्। संस्थाले विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गरेर नेपालीको हितमा काम गरिरहेको उल्लेख गर्दै उनले सबै नेपालीको साझा संस्थाका रूपमा एनआरएनएलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।








प्रतिक्रिया