काठमाडौं । युवाको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले मंगलबार विश्व युवा दक्षता दिवस मनाइँदैछ । विश्वभर बढ्दो बेरोजगारी, श्रम बजारमा आवश्यक सीपको अभाव र योग्यताअनुसार रोजगारी नपाउने समस्यालाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा मनाउने सङ्कल्प गरेपछि यो दिवस विश्वभर मनाउन थालिएको हो।
विशेषगरी युवा जनशक्तिलाई आवश्यक सीप, प्रविधि र रोजगारीसँग जोड्ने उद्देश्यले यो दिवसले विश्वव्यापी बहस सिर्जना गर्दै आएको छ । नेपाल जस्तो ठूलो युवा जनसंख्या भएको देशका लागि पनि युवा दक्षता र सीप विकास महत्वपूर्ण विषय बनेको छ ।
डेढ दशकदेखि युवा अधिकार र सामाजिक मुद्दामा अभियान चलाउँदै आएका युवा अभियन्ता सरोज वानियाँका अनुसार पछिल्लो समय नेपालमा भएको राजनीतिक परिवर्तनपछि युवाहरूले रोजगारी, उद्यमशीलता र आफ्नो भविष्य निर्माणका विषयमा ठूलो अपेक्षा राखेका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल युवा परिषद्का संस्थापक समेत रहेका उनले रोजीरोटी, जनजीविका र भविष्यसँग जोडिएका विषयमा वर्तमान सरकारसँग युवाहरुले ठूलो अपेक्षा राखेको बताए ।
उनले भने, ‘विशेषगरी जेन–जी आन्दोलनपछि नेपालमा एउटा राजनीतिक परिवर्तन भयो । त्यसपछि देश निर्वाचनमा गयो र नयाँ जनमत निर्माण भयो । अहिले नेपाली युवाहरूले हरेक दिनको रोजीरोटी, जनजीविका र भविष्यसँग जोडिएका विषयमा ठूलो अपेक्षा राखेका छन् ।’
उनका अनुसार अहिलेको युवा पुस्ताको मुख्य चाहना आफ्नै देशमा अवसर सिर्जना गर्नु हो । विदेश जानुपर्ने बाध्यता कम गर्दै नेपालमै उद्यम गर्ने, आफ्नो श्रम र सीप प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
‘युवाहरूले आफ्नै देश र यही भूमिमा सानो भएपनि उद्यम गर्न, पसिना र श्रम आफ्नै देशको विकासमा प्रयोग गर्न सकौं भन्ने चाहना राखेका छन्। साथै विश्वभर बढिरहेका प्रतिस्पर्धात्मक अवसरलाई नेपालबाटै उपयोग गर्न सक्ने वातावरण राज्यले बनाइदिनुपर्छ,’ उनले भने ।
वानियाँले अहिले देशको नेतृत्वमा युवाको उपस्थिति बढेको उल्लेख गर्दै त्यसअनुसार युवामैत्री नीति तथा कार्यक्रम आउनुपर्ने बताए ।
‘अहिले देशको प्रधानमन्त्री नै ३६ वर्षको युवा हुनुहुन्छ । मन्त्रिपरिषद्मा पनि युवाको प्रतिनिधित्व छ । संसद्मा पनि ठूलो संख्यामा युवा आएका छन् । यस्तो अवस्थामा युवाका लागि सीप, प्रविधि र रोजगारीसँग सम्बन्धित अझ प्रभावकारी कार्यक्रम आउने अपेक्षा स्वाभाविक हो,’ उनले भने ।
तर युवाको नाममा छुट्टै कार्यक्रम मात्र नभई हरेक क्षेत्रको नीति र कार्यक्रममा युवालाई केन्द्रमा राख्नुपर्ने उनको धारणा छ ।
उनले भने, ‘युवा भनेको एउटा छुट्टै क्षेत्र मात्र होइन, यो सबै विषयसँग जोडिने क्रस–कटिङ विषय हो । एआई, प्रविधि, नवप्रवर्तन, डिजिटल साक्षरता, उद्यमशीलता सबै क्षेत्रमा युवाको भूमिका हुन्छ ।’
उनका अनुसार सरकारका नीति तथा कार्यक्रमहरूमा युवासँग सम्बन्धित विषय समेटिए पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको छ ।
‘हामीले अपेक्षा गरेको स्तर ठूलो थियो । नेपाल अहिले जनसांख्यिक लाभको अवस्थामा छ । युवा जनसंख्या हाम्रो अवसर हो, तर त्यसलाई उपयोग गर्न आवश्यक सीप र अवसर सिर्जना गर्न अझ धेरै काम गर्न बाँकी छ,’ उनले भने ।
‘एक युवा, एक सीप’ आवश्यक
युवा अभियन्ता वानियाँले नेपालले अब ‘एक युवा, एक सीप’ अवधारणालाई अघि बढाउनुपर्ने बताए । उनका अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सके नेपाली युवाले अन्तर्राष्ट्रिय श्रम बजारमा पनि राम्रो अवसर पाउन सक्छन् ।
‘हामीसँग ठूलो युवा जनशक्ति छ तर धेरै जना आवश्यक सीपबिना वैदेशिक रोजगारीमा जान बाध्य छन् । राज्यले बजारको मागअनुसार सीप सिकाएर पठाउन सके उनीहरूको आम्दानी बढ्छ र जोखिम पनि कम हुन्छ,’ उनले भने।
उनले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । विशेषगरी सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डेटा विश्लेषण, सफ्टवेयर विकास, डिजिटल सेवा र फ्रिलान्सिङजस्ता क्षेत्रमा युवालाई सक्षम बनाउनुपर्ने उनको सुझाव छ।
‘अबको समय परम्परागत रोजगारीको मात्र होइन, प्रविधिमा आधारित कामको समय हो। एउटा कम्प्युटर र इन्टरनेटको माध्यमबाट नेपालमै बसेर विश्व बजारसँग जोडिन सकिने अवस्था आएको छ,’ उनले भने ।
वैदेशिक रोजगारीमा जाने युवालाई सीप आवश्यक
नेपालबाट ठूलो संख्यामा युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने गरेका छन्। तर धेरैजसो युवा पर्याप्त सीपबिना विदेश जाने हुँदा न्यून पारिश्रमिक र जोखिमपूर्ण काम गर्न बाध्य हुने गरेका छन् ।
उनले भने, ‘खाडी मुलुकमा जाने धेरै युवा अझै पनि सामान्य श्रमिकका रूपमा जान्छन्। उनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा आवश्यक पर्ने सीप दिएर पठाउन सके उनीहरूको आम्दानी र जीवनस्तर दुवै सुधार हुन सक्छ।’
उनका अनुसार विदेश जान चाहने युवालाई पनि आधारभूत कम्प्युटर ज्ञान, भाषा, प्रविधि र व्यावसायिक सीप दिन आवश्यक छ ।
विश्वभर काम गर्ने शैली परिवर्तन भइरहेको उल्लेख गर्दै वानियाले नेपालका युवाले पनि नयाँ प्रविधिसँग आफूलाई अपडेट गर्नुपर्ने बताए ।
उनका अनुसार कोभिड–१९ पछि विश्व अर्थतन्त्र नयाँ ढङ्गबाट अघि बढेको छ । अहिले कृत्रिम बुद्धिमत्ता, गिग इकोनोमी र डिजिटल रोजगारीको विस्तार भइरहेको छ ।
‘पहिले बिहान कार्यालय जाने र निश्चित समयमा काम गर्ने प्रणाली थियो । अहिले प्रविधिले काम गर्ने शैली परिवर्तन गरिरहेको छ । अब संसारभरका कम्पनीका लागि नेपालबाटै काम गर्न सकिने अवस्था आएको छ,’ उनले भने ।
उनले सरकारले फ्रिलान्सिङ, डिजिटल काम र अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई सहज बनाउनुपर्ने बताए । नेपालमा अझै पनि अन्तर्राष्ट्रिय भुक्तानी, डेटा पहुँच र डिजिटल पूर्वाधारका समस्या रहेको उनको भनाइ छ ।
‘हामीले केही सिक्न खोज्दा पनि अन्तर्राष्ट्रिय सेवा प्रयोग गर्न समस्या हुन्छ । सफ्टवेयर किन्न, अनलाइन तालिम लिन र विभिन्न डिजिटल सेवामा पहुँच पाउन कठिनाइ छ। यस्ता समस्या समाधान गर्न राज्यले सहज वातावरण बनाउनुपर्छ,’ उनले भने।
युवासम्बन्धी संस्थालाई प्रभावकारी बनाउनुपर्ने
वानियाँले युवाका लागि स्थापना गरिएका सरकारी संरचनाहरूलाई सक्रिय बनाउनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार राष्ट्रिय युवा परिषद्, युवा स्वरोजगार कोषलगायतका संस्था प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्था छ ।
‘पुराना संरचना काम लाग्दैनन् भनेर हटाउनेभन्दा पनि पुनर्गठन गरेर नयाँ सोच र नेतृत्वका साथ अघि बढाउनुपर्छ । संस्था खराब होइन, नेतृत्व र कार्यशैलीले परिणाम निर्धारण गर्छ,’ उनले भने। उनले युवालाई नेतृत्वमा ल्याएर यस्ता संस्थालाई प्रभावकारी बनाउन सकिने बताए ।
सीप विकाससँगै सचेतना पनि आवश्यक
युवा क्षेत्रमा काम गर्दा केवल नीति बनाएर मात्र नहुने भन्दै वानियाँले युवालाई सचेत र शिक्षित बनाउनुपर्ने बताए । उनका अनुसार राज्यले नियम लागू गर्दा पहिले जनचेतना फैलाउन आवश्यक हुन्छ ।
‘हाम्रो जस्तो विकासशील देशमा एकैपटक कडा कारबाहीभन्दा पहिले शिक्षा र सचेतना आवश्यक हुन्छ । युवालाई नियम, अवसर र जिम्मेवारीबारे जानकारी गराउनुपर्छ,’ उनले भने ।
उनले सामाजिक सञ्जालमार्फत युवालाई सचेत गराउने अभियान सञ्चालन गर्नुपर्ने बताए । विश्व युवा दक्षता दिवसको अवसरमा वानियाँले युवालाई आफ्नो क्षमता विकासमा ध्यान दिन आग्रह गरेका छन् ।
‘आज तपाईंको मोबाइल, ल्यापटप र इन्टरनेट नै संसारसँग जोडिने माध्यम हो। तपाईंले चाहनुभयो भने धेरै कुरा सिक्न सक्नुहुन्छ। आफूलाई कहिल्यै रोक्नु हुँदैन,’ उनले भने।
उनले युवालाई हरेक दिन एउटा नयाँ कुरा सिक्ने बानी विकास गर्न आग्रह गरे । ‘एआईका उपकरण, डेटा विश्लेषण, नयाँ प्रविधि र डिजिटल सीप सिक्नुस् । यसले तपाईंलाई नेपालमै बसेर पनि विश्व बजारसँग प्रतिस्पर्धा गर्ने क्षमता दिन्छ,’ उनले भने ।
उनका अनुसार सरकारले अवसर सिर्जना गर्ने काम गर्नुपर्छ तर युवाले पनि आफ्नो क्षमता विकासमा सक्रिय भूमिका खेल्नुपर्छ । ‘हातमा सीप लिनुस्। आफ्नो माटोलाई समृद्ध बनाउन युवाले नेतृत्व लिनुपर्छ । देश परिवर्तन गर्ने समय अहिलेको युवा पुस्ताकै हो,’ उनले भने।
विश्व युवा दक्षता दिवसले नेपालसहित विश्वभरका युवालाई सीप, प्रविधि र अवसरसँग जोड्ने बहसलाई अघि बढाएको छ । नेपालले आफ्नो युवा जनशक्तिलाई सही सीप र अवसरसँग जोड्न सके यो जनसंख्या चुनौती नभई आर्थिक विकासको ठूलो शक्ति बन्न सक्ने युवा अभियन्ता बानियाँ बताउँछन् ।








प्रतिक्रिया