इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।
ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो ।
सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको छ । इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका ठूलो सङ्ख्याका मालवाहक तथा अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन् ।
राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबारको बाढीले बगाएपछि उक्त सडक पनि अवरुद्ध भएको छ ।








प्रतिक्रिया