Logo

Breaking News 1

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत



काठमाडौं । राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजको बैठकमा राखेका उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै उनले बजेटमा आमजनताको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युत्मा केही मात्रामा कर लगाइएको स्पष्ट पारे ।

मुलुकका तीन चौथाई विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेको उल्लेख गर्दै मन्त्री डा वाग्लेले ‘सक्नेले नसक्नेलाई दिने’ भन्ने उद्देश्यका साथ निजी विद्यालयमा प्रगतिशील कर लगाइएको स्पष्ट पारे । त्यसैगरी मध्यमवर्गको राहतका लागि आय कर नलाग्ने रकम वृद्धि गरिएको जानकारी दिए ।

वर्तमान सरकार आउनुअघि नै बजेट सिलिङ तोकिसकेकाले संवैधानिक निकायको बजेट वृद्धि गर्न नसकिएको मन्त्री डा वाग्लेको भनाइ छ ।

सरकारले महत्वाकांक्षी आर्थिक विकासको लक्ष्यअनुसार बजेट र कार्यक्रम ल्याएको तथा अर्थ मन्त्रालयलाई सुधार गरी कार्यान्वयन प्रभावकारी हुने व्यवस्था मिलाएको उनले बताए ।

त्यसअघि सांसदहरू पदमबहादुर परियार, मदनकुमारी शाह (गरिमा), रोशनी मेचे, नारायणदत्त मिश्र, सोमनाथ पोर्तेल, विष्णुकुमारी सापकोटाले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै आफ्ना धारणा व्यक्त गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार १७ गते दिउँसो १ः१५ बजे बस्नेछ । —

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ५ : १३ बजे