रामेछाप । स्थानीय स्तरका योजना निर्माणमा स्थानीयको सहभागिता कार्यक्रम अन्तर्गत रामेछापको मन्थली नगरपालिका–८ चिसापानीले सुरु गरेको योजनामा रोजगारीको सिलसिलामा गाउँ बाहिर बस्ने स्थानीयले साथ दिएका छन् ।
स्थानीयसँगको साझेदारीमा वडा कार्यालयले सुरु गरेको प्याराफिट सहितको भलिबल खेल मैदान निर्माणको काममा स्थानीयले अभूतपूर्व सहयोग गरेका वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । करिब २० लाख रुपैँया खर्च हुने सो खेल मैदान निर्माणको लागि वडा कार्यालयले ८ लाख रुपैँया विनियोजन गरेको थियो ।
बाँकी रकम स्थानीयको श्रमदान र सहयोग जुटाउने योजना अनुसार निर्माण कार्य सुरु गरिएकोमा कामको सिलसिलामा काठमाडौं सहित देश बाहिर बस्ने स्थानीयले हालसम्म १० लाख रुपैँया जुटाएर उपभोक्ता समितिलाई सहयोग गरेका छन् । स्थानीय गाउँलेहरूले पनि सो खेल मैदान निर्माणको लागि श्रमदान लगायतका सहयोग गरिरहेका उनले जानकारी दिए ।
सो गाउँमा रहेका विभिन्न संस्थाहरू मार्फत १० लाख रुपैँया भन्दा बढी रकमा जुटाइएको चिसापानी जनकल्याण समाज काठमाडौंका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
चिसापानीमा जन्मिएर अस्थायी रूपमा काठमाडौं बस्दै आएका प्रकाश श्रेष्ठले खेल क्षेत्रको प्रवर्धन र खेल मार्फत गाउँको अर्थतन्त्र विकासका लागि आफूहरूले यो पहल गरेको बताए । उनले आफूहरूले गाउँ बाहिर रहे पनि गाउँको बारेमा सोची रहने र सोही सोच अनुसार सहयोग जुटाएको बताए ।
सङ्कलित रकम हस्तान्तरण कार्यक्रममा सहभागीले गाउँमा गरिने रचनात्मक कामको लागि आफूहरूले अझै सहयोग गर्ने बताए । उनीहरूले यस्ता कामले गाउँको लागि केही गर्नुपर्छ भन्ने भावना जगाइ राख्ने धारणा राखे ।








प्रतिक्रिया