Logo

Breaking News 1

रास्वपाकाे अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनपूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागिएको हो ।

विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । 

जसअनुसार सभापति एक, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ ।

एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने छ । अब समिति १५१ सदस्यीय हुनेछ ।

९९ जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ । ५१ जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । 

सात प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन् । विधानले यसभन्दाअघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरेकामा अब एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत मनोनित गर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ४६ बजे