काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश पर्किएका छन् । उनी चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए ।
भ्रमणका क्रममा सोमबार मन्त्रीद्वय खनाल र वाङबीच द्विपक्षीय भेटवार्ता भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको मन्त्रालयद्वारा जारी भ्रमणसम्बन्धी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी, विगतमा सहमति भएका द्विपक्षीय कार्यक्रम तथा परियोजनाहरूको शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै बहुपक्षीय एवम् क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य अघि बढाउने कुरामा जोड दिइएको मन्त्रालयले जनाएको छ । भेटवार्तापपछि मन्त्री खनाल विदेशमन्त्री वाङद्वारा आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।
यसअघि, सोही दिन मन्त्री खनाल र चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको थियो ।
दूतावासमा आयोजित नेपाली, चिनियाँ तथा अन्तर्राष्ट्रिय मिडियासँगको छुट्टाछुट्टै भेटमा नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नवगठित नेपाल सरकारका प्राथमिकता तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे खनालले धारणा राखेका थिए ।








प्रतिक्रिया