Logo

Breaking News 1

विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो



बाँके । बाँकेको कोहलपुरमा घरटहरा भत्काइएपछि विस्थापित भएका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीका परिवारहरू व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

घर भत्काइएको एक महिना बितिसक्दा पनि राज्यले स्थायी बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न कुनै ठोस पहल नगरेको भन्दै प्रभावित परिवारहरूले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।

प्रभावित परिवारहरूले कोहलपुरमा प्रदर्शन गर्दै आफूहरूको पुनस्र्थापनाको सुनिश्चित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरूका अनुसार डोजर चलाउनुअघि वैकल्पिक बसोबासको व्यवस्था नगरी गरिएको कारबाहीका कारण सयौँ परिवार अहिले कठिन परिस्थितिमा जीवनयापन गर्न बाध्य छन् ।

विशेषगरी बालबालिकाको पढाइ, स्वास्थ्य सेवा र दैनिक जीविकोपार्जनमा गम्भीर असर परेको उनीहरूको गुनासो छ । संघर्ष समितिका संयोजक वीरबहादुर परियारले व्यवस्थापनबिनै बस्ती हटाइएकाले प्रभावित परिवार अन्यायमा परेको बताए । उनका अनुसार विस्थापित भएका ७५१ घरपरिवारमध्ये हाल ११५ परिवार मात्रै होल्डिङ सेन्टरमा बसिरहेका छन् भने अधिकांश परिवार बाध्य भएर भाडाका कोठामा आश्रय लिन पुगेका छन् । 

‘होल्डिङ सेन्टर अघोषित कारागारजस्तै बनेको छ । त्यहाँ आधारभूत सुविधाको समेत अभाव छ । स्थायी बसोबासको व्यवस्था नभएसम्म हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ,’ उनले भने ।

‘भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमाथि भएको डोजर आतंकविरुद्ध संघर्ष कार्यक्रम’ लेखिएको ब्यानर बोकेर प्रभावित परिवारहरूले नाराजुलुस समेत निकालेका थिए । उनीहरूले बिनाविकल्प डोजर चलाउने कार्य बन्द गर्न, भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न तथा विस्थापित परिवारको उचित व्यवस्थापन गर्न माग गरेका छन् । 

प्रदर्शनकारीहरू भत्काइएको बस्ती क्षेत्रबाट साझा चोक हुँदै कोहलपुर चौराहासम्म पुगेका थिए । गत वैशाख २६ र २७ गते कोहलपुर नगरपालिकाले नगर विकास समितिको स्वामित्वमा रहेको करिब ३६ बिघा क्षेत्रफलमा बनेका १४८ वटा घरटहरा हटाएको थियो ।

त्यसपछि नगरपालिकाले अस्थायी बसोबासका लागि १६ स्थानमा होल्डिङ सेन्टर स्थापना गरे पनि हाल तीनवटा केन्द्रमा मात्रै प्रभावित परिवारहरू बसोबास गर्दै आएका छन् । नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार हाल तीनवटा होल्डिङ सेन्टरमा ११५ परिवारका ३१९ जना नागरिक आश्रित छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १० : २७ बजे