सप्तरी । खडक नगरपालिका वडा नं. ६ स्थित गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको निर्माण कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै सप्तरीको खडक नगरपालिकाले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायीसँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
नगरपालिकाका अनुसार उक्त आयोजनाका लागि डाक्नेश्वरी–९, सप्तरीस्थित रविना ओम गणेशाय जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । तर दोस्रो पटकसम्म म्याद थप गरिँदा पनि कम्पनीले निर्माण कार्य पूरा नगरेको, पेश्की रकम लिएर समेत अपेक्षित प्रगति नगरेको तथा लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको आरोप नगरपालिकाले लगाएको छ ।
निर्माण कार्य समयमै सम्पन्न गर्न नगरपालिकाले पटक पटक पत्राचार र ताकेता गरे पनि कम्पनीले कामलाई निरन्तरता नदिएको जनाएको छ ।
निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिन अब आठ दिन मात्र बाँकी रहेकाले पनि नगरपालिकाले थप कडाइ गरेको हो। साथै, निर्माण व्यवसायीले नियमानुसार म्याद थपका लागि कुनै निवेदनसमेत नदिएको सूचनामा उल्लेख गरिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता किन अन्त्य नगर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस किन नगर्ने भन्ने विषयमा विश्वसनीय आधारसहितको स्पष्टीकरण सात दिनभित्र पेश गर्न नगरपालिकाले आग्रह गरेको छ ।








प्रतिक्रिया