काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठले नेपालमा गणतन्त्र स्थापना कुनै आकस्मिक राजनीतिक परिवर्तन नभई लामो संघर्ष, त्याग र जनआन्दोलनको परिणाम भएको भन्दै विद्यार्थी आन्दोलनले त्यसमा निर्णायक भूमिका खेलेको स्मरण गरेका छन् ।
नेपाल न्यूज बैंकसँग गणतन्त्र दिवस विशेष कुराकानी गर्दै उनले राजतन्त्र अन्त्य गरी जनताको सार्वभौम अधिकार स्थापित गर्न विद्यार्थी संगठनहरूले सडकबाट गणतन्त्रको आवाज बुलन्द गरेको स्मरण गरे ।
उनका अनुसार सुरुवाती चरणमा राजनीतिक दलहरू नै पूर्ण रूपमा गणतन्त्रको पक्षमा तयार नभएको अवस्थामा विद्यार्थी संगठनहरूले आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
उनले भने, ‘त्यो बेला गणतन्त्रको आन्दोलन उठाउनु सजिलो कुरा थिएन । लामो समयदेखि राजतन्त्रले शासन गरिरहेको अवस्था थियो । जनताको पहुँच राज्यसत्तासम्म थिएन । त्यही कारण परिवर्तनको आवश्यकता महसुस भयो। विद्यार्थीहरूले नै अब गणतन्त्रको विकल्प छैन भनेर सडकबाट आवाज उठाएका थियौं ।’
श्रेष्ठका अनुसार अनेरास्ववियु, नेविसंघलगायत विद्यार्थी संगठनहरूले निरन्तर आन्दोलन गरेपछि राजनीतिक दलहरू पनि गणतन्त्रको पक्षमा खुल्दै गए । तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला तथा माओवादी आन्दोलनबीचको संयुक्त संघर्षले अन्ततः गणतन्त्र स्थापना सम्भव भएको उनको भनाइ छ ।
उनले गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाउने शहीदहरूको योगदानलाई विशेष रूपमा स्मरण गर्नुपर्ने बताए । श्रेष्ठका अनुसार विद्यार्थी आन्दोलन सँधैैं दबाबमूलक र जागरणमूलक शक्ति रहँदै आएको छ । राजतन्त्रकालीन शासन व्यवस्थाले जनताको अधिकार कुण्ठित गरेको, महँगी र भ्रष्टाचार बढाएको तथा नागरिकलाई राज्यबाट टाढा राखेको कारण विद्यार्थीहरू आन्दोलनमा होमिएको उनले बताए ।
उनले भने,‘गणतन्त्र दिवस शहीदहरूको बलिदान सम्झिने दिन पनि हो । उहाँहरूको योगदानबिना यो व्यवस्था सम्भव हुने थिएन । जनताको सार्वभौम अधिकार जनतामै हुनुपर्छ भन्ने चेतना विद्यार्थीहरूले समाजमा फैलाएका हुन्। विद्यार्थी आन्दोलनले विरोध मात्रै गर्दैन, सकारात्मक कामको समर्थन र गलत कामको सच्याउने भूमिका पनि खेल्छ ।’
भोको पेटमै लड्यौं
विद्यार्थी राजनीतिमा प्रवेश गर्नुको कारणबारे उनले आफूले भोगेका विद्यार्थी जीवनका कठिनाइहरू पनि सुनाए । आरआर क्याम्पसमा पत्रकारिता अध्ययन गर्न जाँदा दूरदराजबाट आएका विद्यार्थीहरू भर्ना, छात्रवृत्ति र बसोबासको समस्याबाट पीडित भएको देखेपछि विद्यार्थी आन्दोलनप्रति आकर्षित भएको उनको भनाइ थियो।
गणतन्त्र आन्दोलनका क्रममा आफूहरूले भोगेका दमन र संघर्षका घटनाहरू सम्झँदै श्रेष्ठले आन्दोलनका दिन निकै कठिन रहेको बताए । बागबजार, न्यूरोडलगायत क्षेत्रमा आन्दोलन गर्दा प्रहरीले पटक–पटक लाठीचार्ज गरेको, नेताहरूलाई पक्राउ गरी यातना दिएको तथा आन्दोलनकारीहरूले जेल जीवनसमेत बिताएको उनले स्मरण गरे।
उनले भने,‘त्यो बेला होटल, रेष्टुरेन्ट बन्द हुन्थे । भोकभोकै बिहानदेखि बेलुकासम्म आन्दोलनमै हुन्थ्यौँ। तर परिवर्तनको आशाले हामीलाई ऊर्जा दिएको थियो,’ उनले भने । यद्यपि गणतन्त्र स्थापना भएपनि आम जनताको जीवनस्तरमा अपेक्षाअनुसार परिवर्तन आउन नसकेको स्वीकार गर्दै उनले अहिलेको मुख्य चुनौती व्यवस्थाको प्रभावकारी कार्यान्वयन भएको बताए ।
उनले भने, ‘व्यवस्था परिवर्तन भयो तर जनताको अवस्थामा परिवर्तन ल्याउन सकिएन । गणतन्त्र भनेको सामाजिक न्याय, कानुनी शासन र जनताको अधिकार सुनिश्चित गर्ने व्यवस्था हो। तर त्यो अनुभूति जनताले पूर्ण रूपमा गर्न पाएका छैनन् ।’
श्रेष्ठका अनुसार विकासलाई केवल सडक र भवन निर्माणसँग जोडेर हेर्नु गलत हुने बताए । ‘विकास भनेको आम जनताको अनुहारमा खुसी देखिनु पनि हो । सामान्य नागरिकको जीवन सहज हुनुपर्छ,’ उनले भने।
सरकार ‘कच्चा’ र ‘अल्लारे’
उनले पूराना राजनीतिक दलहरूको कमजोरीकै कारण नयाँ राजनीतिक शक्तिहरू उदाएको बताए। जनता परिवर्तन चाहने शक्ति भएकाले उनीहरूले समयअनुसार नयाँ विकल्प खोज्ने गरेको उनको भनाइ थियो । तर नयाँ राजनीतिक शक्तिहरूले पनि अपेक्षाअनुसार काम गर्न नसकेको आरोप उनले लगाए। वर्तमान सरकारप्रति टिप्पणी गर्दै श्रेष्ठले सरकार अलि ‘कच्चा’ र ‘अल्लारे’ शैलीमा अघि बढिरहेको दाबी गरे।
उनले भने,‘जनताले हिजो कांग्रेसलाई बहुमत दिए, एमालेलाई दिए, माओवादीलाई दिए र अहिले नयाँ दलहरूलाई अवसर दिइरहेका छन् । यो जनताको परिवर्तन खोज्ने स्वभाव हो । काम गर्ने कुरा मात्रै गरेर हुँदैन, काम विधिसम्मत, कानुनसम्मत र परिणाममुखी हुनुपर्छ। जनताको पक्षमा काम हुनुपर्छ, शासकको पक्षमा होइन।’ सुकुम्बासी बस्ती हटाउने विषयलाई उदाहरण दिँदै उनले वैकल्पिक व्यवस्थाबिना गरिएको निर्णयले सयौँ विद्यार्थी विद्यालयविहीन बनेको दाबी गरे।
‘पहिले पुनःस्थापनाको व्यवस्था गर्नुपथ्र्यो। परिणाम मात्रै देखाउन खोज्दा जनताको जीवन प्रभावित भयो,’ उनले भने।
प्रधानमन्त्रीको संसदप्रतिको व्यवहारप्रति पनि उनले असन्तुष्टि जनाए। नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री लामो समय संसदमा नबस्नु गैरजिम्मेवार व्यवहार भएको उनको टिप्पणी थियो।
गणतन्त्रमाथि कुनै खतरा छैन्
श्रेष्ठले गणतन्त्रमाथि कुनै खतरा नरहेको दाबी गरे। उनका अनुसार गणतन्त्रले सबैलाई आफ्नो विचार राख्ने स्वतन्त्रता दिएको छ, त्यसैले राजतन्त्र पक्षधरहरूले पनि आफ्ना धारणा राख्न पाउने व्यवस्था यही प्रणालीको सुन्दर पक्ष हो । ‘राजतन्त्रको पक्षमा बोल्न पाइन्छ । त्यो लोकतन्त्रले दिएको अधिकार हो। तर त्यसले व्यवस्था परिवर्तन हुन्छ भन्ने होइन,’उनले भने।
विद्यार्थी संगठनको औचित्यमाथि उठ्ने प्रश्नबारे उनले अहिले पनि विद्यार्थी आन्दोलनको आवश्यकता उत्तिकै रहेको बताए। महँगी, भ्रष्टाचार, शिक्षा र स्वास्थ्यको पहुँच, राष्ट्रियता तथा सामाजिक न्यायका विषयमा आवाज उठाउने शक्ति विद्यार्थी आन्दोलन नै भएको उनको भनाइ छ।
नेपालमा शिक्षा दुई वर्गमा विभाजित भएको भन्दै उनले धनी र गरिबका लागि फरक–फरक शिक्षा प्रणाली हुनु दुःखद रहेको बताए । सरकारी शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए ।
उनले भने,‘रत्नराज्य क्याम्पस र निजी कलेजबीचको अन्तर हेर्नुस् । सरकारी क्याम्पसका भवन जीर्ण छन्, निजी कलेजहरू अग्ला भवन बनाइरहेका छन् । शिक्षा निजीकरणले मात्रै देशको भविष्य राम्रो हुँदैन ।’ उनले स्वास्थ्य र शिक्षालाई चरणबद्ध रूपमा निःशुल्क बनाउनुपर्ने माग पनि दोहोर्याए । विद्यार्थी संगठनहरूमा हुने अराजक गतिविधिबारे उठ्ने आलोचनाप्रति उनले संगठनभित्र अनुशासन आयोग रहेको र गलत काम गर्नेहरूमाथि कारबाही गरिने बताए।
उनले भने,जबसम्म शिक्षा र स्वास्थ्यमा समान पहुँच हुँदैन, भ्रष्टाचार र असमानता हट्दैन केही व्यक्तिले गल्ती गरेका हुन सक्छन्। तर त्यसका आधारमा सम्पूर्ण विद्यार्थी आन्दोलनलाई दोष दिन मिल्दैन । तर विद्यार्थी संगठनहरूमा हुने अराजक गतिविधि नियमन गर्न संगठनभित्र अनुशासन आयोग छ । गलत काम गर्नेहरूमाथि कारबाही हुन्छ।’
उनले संसद प्रतिपक्षको आवाज सुन्ने थलो भएको उल्लेख गर्दै लोकतन्त्रमा फरक विचारलाई सम्मान गर्नुपर्ने धारणा राखे । ‘संसदमा प्रतिपक्षको आवाज दबाउने प्रयास लोकतान्त्रिक अभ्यास होइन,’उनले भने। गणतन्त्रलाई संस्थागत गर्न पुराना राजनीतिक दलहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पनि उनले जोड दिए । लामो समय संघर्ष गरेका नेताहरूले अब नयाँ ऊर्जावान् पुस्तालाई अगाडि ल्याउनुपर्ने उनको भनाइ थियो ।
श्रेष्ठले गणतन्त्रलाई केवल राजनीतिक व्यवस्था नभई जनताको अधिकार, सामाजिक न्याय र आर्थिक समानताको संघर्षबाट प्राप्त उपलब्धिको रूपमा व्याख्या गरे । उनले सम्पूर्ण नेपालीलाई गणतन्त्र दिवसको शुभकामना दिँदै लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउन सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखे ।








प्रतिक्रिया