Logo

समाचार

बदलिँदै राउटे, लोपोन्मुख संस्कृति



सुर्खेत । फिरन्ते जीवन बिताउने राउटे समुदायको परम्परागत संस्कृति गुम्दै जाने खतरा बढ्दै गएको छ । भिन्न परम्परागत सभ्यता र संस्कृति बोकेको राउटे समुदाय लोपोन्मुख अवस्थामा रहेको छ ।

आफूलाई ‘बोटको राजा’ दाबी गर्दै आएको यो समुदायको पहिचान, अस्तित्व र परम्परा संरक्षण गर्ने कि ? उनीहरुलाई मानव सभ्यताको बिकासक्रममा आधुनिकीकरण गर्ने भन्ने बहस पनि अहिले चल्न थालेको छ ।

कर्णालीका विभिन्न जिल्लाहरुमा घुमन्ते जीवन जिउदै आएको यो समुदायले आधुनिक जीवनशैली भन्दा आफ्नै परम्परागत जीवनशैली अँंगालीरहेको छ । राउटे एउटा मानव जाति मात्र होइन यो समुदाय एउटा मानव सभ्यता पनि हो ।

उनीहरुको यही सभ्यता अस्तित्वको लडाइँमा छ । उनीहरुको सभ्यता र संस्कृति मात्र हराउँदै छैन सिंगो राउटेसमुदाय नै लोप हुने अवस्थामा पुगेको छ । कुनैबेला हजारांैको हाराहारीमा गणना गरिएको राउटै समुदायको कूल जनसंख्या एक सय ३४ जनामा झर्नुले यिनिहरुलाई संरक्षण गर्न निकै चुनौती रहेको देखिएको छ । यसले स्भाविक प्रश्न उठाएको छ राउटे समुदाय हराउँदैछन् कि हामी उनीहरुलाई संरक्षण गर्न सक्दैनौ ?

राउटे समूदायको साँस्कृतिक पहिचान
राउटे समुदायको संस्कृति स्थायित्वमा होइन, गतिशीलतामा आधारित छ । उनीहरू स्थायी घर बनाउँदैनन्, बस्ती बसाउँदैनन्, कृषि उत्पादनमा उनीहरुको जोड छैन, आधुनिकता उनीहरुलाई मन पर्दैन, दुनियाँको भौतिक बिकासले उनीहरुलाई छुँदैन ।

जंगल नै उनीहरूको घर हो, आकाश उनीहरूको छाना हो । उनीहरु विभिन्न स्थानहरुमा बसाइँ सर्दै जान्छन्, घुमन्ते जीवनशैली उनीहरूको पहिचान हो । यो केवल बसाइँसराइ होइन, स्वतन्त्रता र प्रकृतिसँगको सहअस्तित्वको यो एउटा दर्शन हो ।

राउटेको मुख्य पेशा बादरको सिकार गर्नु र काठका कौशल बनाउनु हो । जंगलमा पाइने काठबाट विभिन्न सामग्री बनाउँछन् । ति आफ्ना उत्पादनहरुलाई चामल, नुन, कपडाजस्ता वस्तुसँग साटेर आफ्नो दैनिक गुजारा गर्छन् । धन दौलत कमाउने, भौतिक सुख सुविधा उनीहरुको प्राथमिक होइन । दैनिक आवश्यकताको पुर्ति नै उनीहरुको मुख्य बिषय हो । यही सरलता र आत्मनिर्भरता नै राउटे संस्कृतिको सौन्दर्य हो । उनीहरू प्रकृतिसँग मिलेर बाँच्छन् ।

आधुनिकताले राउटे समुदायको यही मौलिकता अहिले संकटमा छ । पछिल्ला वर्षहरूमा उनीहरूको जीवनशैलीमा तीव्र परिवर्तन देखिन थालेको छ । राज्यले उनीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू ल्याएको छ ।

मासिक भत्ता, खाद्यान्न सहयोग, स्वास्थ्य सेवालगायतका सकारात्मक पहल जस्तै देखिन्छन् । तर यस्ता पहलले राउटे संस्कृतिमा गहिरो असर पारिरहेका छन् । आत्मनिर्भर जीवनशैली बिस्तारै निर्भरतातर्फ मोडिँदै छ । जंगलमा मेहनत गरेर बाँच्ने परम्परा कमजोर हुँदै गएको छ ।

घुमन्ते जीवनशैली
राउटेहरू स्थायी रूपमा बस्दैनन् । उनीहरू जंगलभित्र विभिन्न स्थानमा सर्दै बस्छन् । कर्णालीका विभिन्न जिल्लाका जंगल र नदी किनाराहरुलाई उनीहरुले आफ्नो बासस्थान बनाउँदै आएका छन् । बढीमा एक बर्षमा उनीहरुले आफ्नो बस्ती सार्दै गर्छन् तर, बस्तीमा कसैको मृत्यु भयो भने उनीहरु त्यो बस्तीमा बस्दैनन् । उनीहरुले अस्थायी भुपडि बनाएर बस्दै आइरहेका छन् । पछिल्लो दिनहरुमा राउटेको स्थायी बसोबासको व्यवस्था गर्नु पर्ने बहस पनि हुने गरेका छन् ।

राउटेहरूको जीवन पूर्ण रूपमा जंगलसँग जोडिएको हुन्छ । वनका कन्दमुल, बाँदरको सिकार र प्रकृतिसंगको सहअस्तित्व उनीहरुको संस्कृति हो । राउटेहरूले कृषिमा विश्वास गर्दैनन् । उनीहरु जमिन जोत्नुलाई पाप मान्छन् र कुल बिग्रने विश्वास गर्छन् । उनीहरुको यही परम्पराले घुमन्ते र स्वतन्त्र जीवनलाई कायम राखेको छ ।

काठका भाँडाकुँडा बनाउने सीप यो जातिको प्रमुख आर्थिक क्रियाकलाप । काठका विभिन्न हस्तकला बनाउने र त्यसलाई खाद्यान्नसंग साटेर उनीहरु पैसामुखि अर्थतन्त्रभन्दा फरक अभ्यास गर्दै आइरहेका छन् । तर पछिल्लो समय राउटे पैसामुखि बन्न थालेका छन् । राज्यसंग दुरी टाढा भएको यो समुदायको आफ्नै भाषा छ । जुन भाषा मौखिक परम्परा र पुस्तौदेखि हस्तान्तरण हुँदै आइरहेको छ । उनीहरुले आफ्नो समुदाय चलाउन मुखिया केन्द्रित हुन्छन् ।

आधुनिकतातर्फ मोडिदै राउटे संस्कृति
बजार र आधुनिकताको प्रभाव पनि राउटे समुदायमा पर्दै गएको छ । राउटे युवाहरूमा मोबाइल फोन, आधुनिक लुगा र बाह्य संस्कृतिको आकर्षण बढ्दै गएको छ । आधुनिक समाजमा यो स्वभाविक परिवर्तन हो भए पनि यसले उनीहरूको परम्परागत मूल्य प्रणालीलाई कमजोर बनाइरहेको छ ।

राउटे समुदायका यूवाहरुमा बढ्दो मदिरा सेवनले उनीहरुको सामाजिक अनुशासनमा क्षति पु¥याइरहेको छ । कुनै बेला ‘पैसा छुँदा पाप लाग्छ’ भन्ने मान्यता बोकेको यो समुदायमा पैसाको लेनदेन बढ्दो छ । बाह्य समुदायबाट बाँडिने खाद्यान्न लगायतका समाग्रीले उनीहरुलाई परनिर्भरतातर्फ धकेलिरहेको छ ।

राउटेहरूको जीवनको आधार नै जंगल हो । वन क्षेत्र घट्दै जाँदा उनीहरूको बसोबास, सिकार र दैनिक जीवन प्रभावित भइरहेको छ । जब जंगल सुक्छ राउटे संस्कृति पनि सुक्न थाल्छ । यो केवल वातावरणीय संकट होइन, सांस्कृतिक संकट पनि हो ।

यसले राउटेहरूलाई ‘विकास’ गर्ने कि ‘जोगाउने’ ? के विकासको नाममा उनीहरूको मौलिक जीवनशैलीलाई परिवर्तन गर्नु उचित हो ? कि उनीहरूको पहिचानलाई जोगाउँदै जीवनस्तर सुधार गर्ने बाटो खोज्नुपर्छ ? नेपाली काँग्रेसका कर्णाली प्रदेशसभाका प्रमूख सचेतक हिक्मत बहादुर बिष्ट राउटेलाई आधुनिकतातर्फभन्दा उनीहरुको सास्कृतिक परम्परा जोगाउने खालका कार्यक्रम ल्याउनु पर्ने बताउँछन् ।

आधनुनिकताको नाममा उनीहरुलाई अन्य मानव समुदायसंगको घुलमिलले उनीहरुको सास्कृतिक पहिचान हराउँदै जाने उनको बुझाई छ । ‘राउटे समुदायको कला, भाषा, सीप र उनीहरुको पहचिान नबिगारिकन उनीहरुको संरक्षण गरिनु पर्छ’ उनले भने, ‘आधुनिक कृषि प्रणालीमा उनीहरुको सहभागिता, स्थायी बसोबासको व्यवस्था तथा आधुनिक जीवनशैलीले उनीहरुको पहिचान नै हराउने छ ।’ उनीहरूको इच्छाविपरीत कुनै पनि योजना थोपर्नु नहुँने र उनीहरूकै सहभागितामा आवश्यक संरक्षणको निती बनाउनु पर्ने बिष्टको भनाई छ ।

राउटे संरक्षण जंगल, पम्परागत सीपको प्रवद्र्धन, सांस्कृतिक संरक्षण, राउटेको भाषा र ज्ञानको दस्तावेजीकरण गरी उनीहरूको जीवनशैलीलाई सम्मान गरी उनीहरुको संरक्षण र प्रबद्र्धन नै दीर्घकालीन समाधान हुने उनको तर्क छ ।

राउटे समुदायको शसक्तिकरण र उनीहरुको पहिचानन संरक्षणको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा राउटेको संस्कृतीसंगै उनीहरुको खाद्यसुरक्षा र स्वास्थय अवस्थाका बारेमा पनि ख्याल राख्नुपर्ने बताउँछन् ।

‘राउटेको परम्परागत संस्कृति संरक्षण भनेर मात्र हुँदैन’ उनले भने, ‘त्यसका लागि उनीहरुको खाद्य सुरक्षा, पोषण तथा स्वास्थ्य अवस्थाबारे पनि ख्याल राख्नु पर्दछ ।’ बर्सेनी राउटेहरुको जनसंख्या घट्दै जानु उनीहरुको अस्तित्व नै सकिने हो कि भन्ने चिन्ताको बिषय भएको उनको भनाई छ । उछिल्ला दिनहरुमा आफ्नो संस्थामार्फत स्वास्थ्यउपचारका र शिक्षाका बिषयमा उनीहरुलाई शसक्तिकरण गरिरहेको उनले बताए ।

सरकारी प्रयास अपुग
दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई स्थायी परिचयपत्र दिएको छ । त्यही परिचय पत्रका आधारमा गुराँश गाउँपालिकाले राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्छ । सरकारले राउटेका लागि उमेर हद नतोकी बच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मासिक दुई हजार रुपैयाँका दरले भत्ता दिँदै आएको छ ।

कर्णाली प्रदेश सरकारले राउटे समुदायको संरक्षण गर्न राउटे कोरिडोरको अवधारणा अघि सारेको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगहरूको सिफारिसका तथा राउटेहरूको विगत १० वर्षको बसोबासस्थलको नक्सांकनका आधारमा कोरिडोरको अवधारणा अघि सारिएको हो ।

राउटेको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न राउटे कोरिडोर स्थापना गर्न लागिएको कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले बताए ।

राउटे बसाइँ सर्ने क्षेत्रहरू समेटेर कोरिडोर बनाउने, प्रोफाइल प्रकाशन गर्ने, विकास साझेदारको समन्वयमा पोषणयुक्त खाद्य सामग्री प्रदान गर्ने, राउटेहरूका लागि प्रादेशिक तथा अन्य सरकारी अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था मिलाइन उक्त कोरिडोरको अवधारण अघि सारिएको उनले बताए ।

‘राज्यले प्रदान गर्ने भत्ता, स्वास्थ्य जाँच र जीवनस्तर सुधारका विभिन्न कार्यक्रममार्फतमा राउटेलाई समावेश गर्न प्रयास गरिएको हो’ उनले भने ।

योसंगै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहकार्यमा राउटेको स्वास्थ्य, उनीहरुको सीपको संरक्षण, हस्तकलाका सामाग्रीहरुको बजारीकरणलगायतका विभिन्न क्रियाकलापहरु हुँदै आएका छन् ।

सरकारले गर्ने कतिपय कार्यक्रमले उनीहरुको सस्कृति बचाउने भन्दा पनि संस्कृति नासिनेतर्फ उन्मुख भएको टिप्पणी हुँदै आएका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले राउटेलाई कोट सिलाएर वितरण ग¥यो त्यो कार्यक्रम निकै आलोचित भएको थियो ।

कर्णाली प्रदेशसभा सामाजिक बिकास समितिका अध्यक्ष पूर्णबहादुर खत्री सरकारले राउटे समुदायको जीवकोर्पाजनका लागि वितरणमुखि कार्यक्रम भन्दा उनीहरुको परम्परागत संस्कृति प्रबद्र्धनका कार्यक्रम ल्याउनु पर्ने बताउँछन् ।

‘राउटे समुदायको संस्कृति र परम्परा जोगाउँदै अन्य कार्यक्रम बनाउनु पर्छ’ उनले भने, ‘राउटेलाई नगद पैसा बाँड्ने कार्यक्रम राख्नै हुँदेन ।’ पैसा वितरणले राउटेलाई परनिर्भर बनाउदै लिएको उनको तर्क छ ।

बढ्दो मदिरा सेवनले बढाएको स्वास्थ्य जोखिम
अस्वस्थ जीवनशैली, मदिरा तथा सुर्तीजन्य पदार्थ सेवनका कारण राउटे समुदायका मानिसहरूमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या बढ्न थालेका छन् ।

नेपाल मानवअधिकार आयोगको अध्ययनले महिला र पुरुष दुवैमा अत्यधिक मदिरा सेवनको लत बसेको उल्लेख गरेको छ । राउटे समुदायका महिलाले चुरोट पिउने र पुरुषले सुर्ती खाने गरेका छन् ।

पछिल्ला दिनहरुमा उनीहरूको मान्यताअुनसार पैसा लिनु पाप हो, अर्कासँग मागेर खानु पाप हो भन्ने मान्यता राख्ने राउटेहरू हाल नयाँ मान्छे देख्यो कि पैसा माग्ने, मदिरा तथा सुर्ती, तयारीका खाद्य सामग्री किन्न लगाइहाल्ने गलत संस्कृतिको विकास हुँदै गएको छ । बाहिरी समुदायसंगको घुलमिलले राउटेबस्तीमा सुरक्षा जोखिम बढ्दै गएको राउटे अगुवाहरुले गुनासो गर्ने गरेका छन् ।

बाहिरी समुदायको पहुँचले राउटे बस्तीका महिलाहरुले यौन दुव्र्यवहार तथा यूवाहरुसंग विवाद हुने गरेको राउटे मुखिया शेरबहादुर शाहीले बताए ।

‘बाहिरबाट आउने मान्छेहरुका कारण बस्तीका यूवाहरुसंग पनि झगडा बढ्दै गएको छ’ उनले भने, ‘छोरीचेलीहरुलाई जिस्काउने र दुव्र्यवहार पनि बढ्दै गएको छ ।’

बर्सेनीे जनसंख्या ओरालोतर्फ
राउटे समुदायको जनसंख्या बर्सेनी घट्दै गएको तथ्याङकले देखाउँछ । पछिल्लो आठ बर्षको तथ्याङक हेर्दा राउटे समुदायमा बर्सेनी दुई जनाको दरले जनसंख्या घटिरहेको छ ।

०७५ सालमा एक सय ४९ जना राउटेको जनसंख्या रहेकोमा २०८२ सम्म आइपुग्दा एक सय ३३ जनामा झेरेको छ । यो आठ बर्षको अवधीमा ३७ जना शिशुको जन्महुँदा पनि २०७५ सालको भन्दा १६ जनाले जनसंख्या कम भएको छ । २०७५ सालयता ४६ जनाले ज्यान गुमाएका छन्, ३७ जना शिशुहरु जन्मेका छन् । २०७५ सालमा १ सय ४९ रहेको राउटेको संख्या त्यसपछि निरन्तर घटिरहेको छ ।

राउटे समूदायका तीन वटा गोत्र छन् । उनीहरुको आफ्नै गोत्रभित्र विहेवारी चल्दैन् । रास्कोटी, स्वबंशी र कल्याल गोत्रबीच एक–अर्कासँग विवाह हुन्छ । यो समूदायमा कल्यालको संख्या अधिक छ । स्वबंशी र रास्कोटीको संख्या न्यून छन् । कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवा–युवतीको पनि विवाह हुन मुस्किल हुन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ६ : ०८ बजे