Logo

प्रदेश

इटहरीमा प्रदेशस्तरीय मिडिया समिट हुँदै



विराटनगर । कोशी प्रदेशका पत्रकारिता क्षेत्रका चुनौती, अवसर र भविष्यका दिशाबारे गहन छलफल गर्ने उद्देश्यले इटहरीमा ‘कोशी प्रदेशस्तरीय मिडिया समिट २०८२’ आयोजना हुने भएको छ । प्रदेशखबर डटकमको आयोजनामा आगामी चैत ८ गते हुने समिटको समन्वय नेपाल पत्रकार महासंघ सुनसरीले गर्नेछ भने सहकार्य नेपाल पत्रकार महासंघ कोशी प्रदेशले गर्ने जनाएको छ ।

समिटमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट पत्रकार, सञ्चारकर्मी, सञ्चारगृहका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा विशेषगरी कोशी प्रदेशमा क्रियाशील पत्रकारहरूको वर्तमान अवस्था, पेशागत सुरक्षा, न्यून पारिश्रमिक, प्रविधिको प्रभाव, मिडियामा बढ्दो प्रतिस्पर्धा तथा डिजिटल पत्रकारिताका अवसरजस्ता विषयमा केन्द्रित बहस हुने आयोजकले जनाएको छ ।

समिटका क्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमितिले ‘कोशी प्रदेशमा पत्रकारिताको अवस्था ःचुनौती र सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछ । उक्त कार्यपत्रमाथि जिल्लागत प्रतिनिधिहरूले टिप्पणी राख्नेछन् भने उठेका विषयहरूलाई समेटेर सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइने कार्यक्रम रहेको छ ।

यसैगरी, समिटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, विज्ञापन बोर्डका कार्यकारी निर्देशक लक्ष्मण हुमागाई, गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारी, राष्ट्रिय समाचार समितिका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, तथा महासचिव रामप्रसाद दाहाल लगायतको सहभागिता रहनेछ । उनीहरूको उपस्थितिमा नीतिगत सुधार, पत्रकारिताको विश्वसनीयता अभिवृद्धि र सञ्चार क्षेत्रको दिगोपनाबारे महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ ।

समिटको निष्कर्षस्वरूप एक घोषणापत्र जारी गरिने आयोजक प्रदेशखबरका प्रधान सम्पादक पवन अधिकारीले जानकारी दिए । उक्त घोषणापत्रमा पत्रकारहरूको अधिकार संरक्षण, सञ्चार माध्यमको दिगो विकास, प्रेस स्वतन्त्रता र व्यावसायिक मर्यादा कायम राख्ने विषय समेटिने बताइएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेका अनुसार समिटलाई प्रभावकारी बनाउन तीन सदस्यीय घोषणापत्र तयारी समिति गठन गरिएको छ र तयारी तीव्र रूपमा अघि बढाइएको छ ।

समिटले कोशी प्रदेशको मिडिया क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण मार्गदर्शन दिने विश्वास गरिएको छ । साथै, युवा पत्रकारहरूलाई सीप विकास, नेटवर्किङ र नयाँ अवसरहरूको खोजीमा समेत समिट उपयोगी हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ७ : ३४ बजे