वाशिङ्टन। अमेरिकी न्याय विभागले शुक्रबार जेफ्री एपस्टिनसँग सम्बन्धित नयाँ सरकारी फाइलहरू सार्वजनिक गरेको छ । यी दस्तावेजहरूमा नाबालिगहरूमाथि गरिएको यौन शोषणका गम्भीर आरोपहरू उल्लेख गरिएका छन् । सार्वजनिक फाइलहरूमा बेलायती राजकुमार एन्ड्र्यू, टेस्लाका सीईओ एलन मस्क र माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको नाम पनि समेटिएको छ ।
न्याय विभागका अनुसार सार्वजनिक गरिएका फाइलहरूमा करिब ३० लाख पृष्ठका कागजात, १ लाख ८० हजार तस्बिर र २ हजारभन्दा बढी भिडियोहरू समावेश छन् । यी अभिलेखहरू सन् २०१० मा फ्लोरिडामा दायर गरिएको एक पीडिताको सिभिल उजुरीसँग सम्बन्धित छन् ।
दस्तावेजहरूमा एपस्टिनले आफ्नो पाम बीचस्थित निवासमा नाबालिग केटीहरूलाई नियमित रूपमा बोलाई यौन शोषण गरेको आरोप लगाइएको छ । उजुरीअनुसार केटीहरूलाई निजी सवारीमार्फत घरमा ल्याइन्थ्यो, जहाँ उनीहरूको व्यक्तिगत विवरण नोट गरिन्थ्यो । त्यसपछि उनीहरूलाई शावर र मसाज टेबल रहेको कोठामा लैजाने गरिएको थियो ।
पीडिताको बयानअनुसार एपस्टिनले उनीहरूलाई कपडा खोल्न लगाउने र यौन गतिविधिमा संलग्न गराउने गर्थे । केही अवस्थामा केटीहरूलाई आपसमा यौन सम्बन्ध राख्न बाध्य पारिएको उल्लेख छ । एक पीडिताले आफू १५ वर्षको उमेरमा पहिलोपटक एपस्टिनसँग सम्पर्कमा आएको र प्रत्येक घटनापछि २०० डलर दिइने गरेको बताएकी छन् ।
उजुरीमा एपस्टिन र उनका सहयोगीहरूले पीडितालाई निरन्तर फोन गर्ने, उनको अवस्थाबारे निगरानी गर्ने र अन्य नाबालिग केटीहरू ल्याउन दबाब दिने गरेको आरोप पनि छ । अस्वीकार गर्दा धम्की दिइने गरिएको पीडिताको दाबी छ ।
राजकुमार एन्ड्र्यूसँग सम्बन्धित तस्बिर र इमेल
नयाँ फाइलहरूमा बेलायती राजकुमार एन्ड्र्यूसँग सम्बन्धित केही तस्बिरहरू पनि समावेश छन् । तिनमा उनी भुइँमा लडेकी एक महिलामाथि झुकेको देखिन्छन् र एक तस्बिरमा महिलाको पेट छोएको जस्तो देखिन्छ । महिलाको पहिचान खुलाइएको छैन र तस्बिर कहिले र कहाँ खिचिएको भन्ने विवरण दिइएको छैन ।
यसका साथै सन् २०१० अगस्टमा एपस्टिन र ‘द ड्यूक’ नामक खाताबीच आदान–प्रदान भएका इमेलहरूमा एपस्टिनले राजकुमार एन्ड्र्यूलाई २६ वर्षीया रुसी महिलासँग लन्डनमा भेट गराउने प्रयास गरेको उल्लेख छ । जवाफमा ‘द ड्यूक’ले भेटमा खुसी हुने बताएका छन् ।
फाइल सार्वजनिक भएपछि एपस्टिनसँगको सम्बन्धका कारण राजकुमार एन्ड्र्यूमाथि थप दबाब बढ्न सक्ने देखिएको छ । बीबीसीका अनुसार यस विषयमा उनको प्रतिक्रिया लिन प्रयास भइरहेको छ ।
एलन मस्कलाई टापुमा निम्तो
फाइलहरूमा सन् २०१२ र २०१३ मा एपस्टिन र एलन मस्कबीच भएका इमेल संवाद पनि सार्वजनिक भएका छन् । ती इमेलमा एपस्टिनले मस्कलाई आफ्नो निजी टापुमा आउन पटक–पटक निम्तो दिएको देखिन्छ ।
एक इमेलमा एपस्टिनले हेलिकोप्टरबाट कति मानिस आउने भनेर सोध्दा मस्कले “सायद तलुला (तत्कालीन पत्नी) र म मात्र” भनेर जवाफ दिएका छन् । त्यसपछि मस्कले टापुमा सबैभन्दा ‘वाइल्ड पार्टी’ कुन दिन हुन्छ भनेर सोधेका छन् ।
यद्यपि, फाइलहरूमा मस्क टापु गएको पुष्टि गरिएको छैन । मस्कले यसअघि नै एपस्टिनको निम्तो अस्वीकार गरेको र कहिल्यै टापु नगेको दाबी गर्दै आएका छन् ।
बिल गेट्ससँग सम्बन्धित इमेल
सार्वजनिक फाइलहरूमा बिल गेट्ससँग सम्बन्धित केही इमेलहरू पनि समावेश छन् । डेली मेलको रिपोर्टअनुसार एपस्टिनले आन्तरिक इमेलमा गेट्सलाई रुसी महिलासँगको सम्बन्धपछि यौन रोग लागेको र उनले एन्टिबायोटिक औषधि मागेको दाबी गरेका छन् । यी आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन ।
न्याय विभागका अनुसार एपस्टिनले सन् २०१३ जुलाई १८ मा आफैँलाई लेखेको इमेलमा गेट्ससँगको मित्रता टुटेको र एसटीडी सम्बन्धी इमेल डिलिट गर्न आग्रह गरिएको उल्लेख गरेका छन् ।
बिल गेट्सले यसअघि नै एपस्टिनसँग भेट गर्नु गल्ती भएको स्वीकार गर्दै पश्चात्ताप व्यक्त गरेका छन् । उनले कुनै गैरकानुनी गतिविधिमा संलग्न नभएको दाबी गरेका छन् ।
तर न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलका रिपोर्टअनुसार गेट्सले सन् २०११ देखि २०१३ सम्म एपस्टिनसँग पटक–पटक भेट गरेका थिए, जसमा न्यूयोर्कस्थित एपस्टिनको घरमा ढिलो रातसम्म बस्नु र निजी विमानमा यात्रा गर्नु पनि समावेश छ ।
बिल र मेलिन्डा गेट्सको सन् २०२१ मा सम्बन्धविच्छेद भएको थियो । मेलिन्डाले पछि एपस्टिनसँगको सम्बन्ध नै सम्बन्धविच्छेदको प्रमुख कारण बनेको बताएकी थिइन् ।
जेफ्री एपस्टिन सन् २०१९ मा नाबालिग यौन तस्करीको अभियोगमा पक्राउ परेका थिए । सोही वर्ष न्युयोर्कस्थित जेलमा मुद्दा विचाराधीन अवस्थामा उनको मृत्यु भएको थियो, जसलाई सरकारी रूपमा आत्महत्या घोषणा गरिएको थियो । तर उनको मृत्यु अझै विवादास्पद विषय बनेको छ ।










प्रतिक्रिया