काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटका सिलसिलामा आयोजित २३औँ भारत–रुस शिखर सम्मेलनमा दुई देशबीचको कूटनीतिक, आर्थिक, ऊर्जा र सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने सहमति गरिएको छ।
बैठकमा मोदीले भारत–रुस सम्बन्ध विगत २५ वर्षमा थप परिपक्व र स्थिर बनेको उल्लेख गर्दै नयाँ वैश्विक चुनौतीहरूको सामना गर्न दुई देश तयार रहेको बताए । उनले रुस–युक्रेन युद्धप्रति भारतको धारणा दोहोर्याउँदै शान्तिपूर्ण र स्थायी समाधानका लागि कूटनीतिक प्रयासलाई समर्थन गर्ने दोहोर्याए।
पुटिनले पनि भारतसँगको सम्बन्धलाई मजबुत र बहुआयामिक भएको उल्लेख गर्दै आर्थिक, ऊर्जा, रक्षा र व्यापारिक क्षेत्रमा सहकार्य निरन्तर रहने जनाए । दुई देशबीच रुबल–रुपैयाँमा कारोबार भइरहेको र ऊर्जा आपूर्ति निरन्तर कायम राख्ने प्रतिबद्धता उनले व्यक्त गरे।
अमेरिकासहित पश्चिमी मुलुकहरूले भारतमाथि रुसी इन्धन खरिद नगर्न दबाब बढाइरहेका बेला पुटिनले भारतलाई निर्बाध रूपमा इन्धन आपूर्ति गर्ने संकेत दिएका छन्।
शिखर सम्मेलनपछि नेपालसहित दक्षिण एसिया र विश्व राजनीतिमा भारत–रुस समीकरणले नयाँ सन्तुलन सिर्जना गर्ने अनुमान गर्न थालिएको छ।










प्रतिक्रिया