बैंकक । दक्षिणी थाइल्यान्डमा आएको भीषण बाढीबाट बुधबारसम्म मृत्यु संख्या ३३ पुगेको छ। अविरल वर्षापछि थाइल्यान्डका सात दक्षिणी प्रान्त र छिमेकी मलेसियाका आठ राज्यमा ठूलो संख्यामा मानिस विस्थापित भएका छन्।
थाइ सरकारले सोङ्खला प्रान्तमा आपतकालीन अवस्था घोषणा गरेको छ। हट याईलगायत प्रमुख पर्यटन क्षेत्र डुबानमा परेका छन्। सरकारले पुष्टिअनुसार आकस्मिक बाढी, करेन्ट लागेर मृत्यु र डुबानका कारण मानिसले ज्यान गुमाएका हुन्। पानीको सतह क्रमशः घट्ने अनुमान गरिएको छ।
विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार थाइल्यान्डका सात प्रान्तमा हजारौँ बासिन्दा घर तथा होटलमै फसेका छन्। उद्धार टोलीले डुङ्गा, जेट–स्की र सैन्य गाडीमार्फत उद्धार कार्य चलाइरहेका छन्। सेना बिरामी र कमजोर अवस्थाका स्थानीयलाई अस्पताल पु–याइँदै छ। प्रभावित क्षेत्रमा १० हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने विश्वविद्यालयका क्याम्पसहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गरिएको छ। प्रान्तीय प्रशासनले दैनिक २० हजार खाद्य प्याक वितरण गर्न सकिने व्यवस्था मिलाएको छ।
विज्ञहरूले जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाको तीव्रता बढेको चेतावनी दिएका छन्।
यता मलेसियामा पनि भारी वर्षापछि आठ राज्यमा बाढी फैलिएपछि २७ हजारभन्दा बढी व्यक्तिलाई अस्थायी आश्रयस्थलमा सारिएको छ। उत्तरपूर्वी तटको केलान्टनमा एक जनाको मृत्यु भएको छ। मौसम विभागले पर्लिस, केदाह, पेनाङ र पेराकमा आँधीबेहरीको चेतावनी जारी राखेको छ। नोभेम्बरदेखि मार्चसम्मको उत्तरपूर्वी मनसुन अवधि भएकाले बाढी जोखिम उच्च रहेको अधिकारीहरूको भनाइ छ।
सीमापार प्रभावस्वरूप दक्षिणी थाइल्यान्डमा हजारौँ मलेसियाली पर्यटक होटलमै फसेपछि मलेसियाले निगरानी बढाएको छ। सोमबारसम्म ६ हजार ३०० भन्दा बढी मलेसियाली प्रभावित क्षेत्रबाट सुरक्षित रूपमा स्वदेश फर्किएको मलेसिया विदेश मन्त्रालयले जनाएको छ।










प्रतिक्रिया