Logo

मुख्य समाचार

क्यानडा–भारत द्विपक्षीय व्यापार वार्ता पुनः सुरु



काठमाडौं । क्यानडा र भारतले दुई वर्षदेखि रोकिएको व्यापार वार्ता पुनः सुरु गर्ने निर्णय गरेका छन्। दक्षिण अफ्रिकाको जोहानिसबर्गमा आयोजित जी–२० शिखर सम्मेलनका क्रममा क्यानडाकी प्रधानमन्त्री मार्क कार्नी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच समकक्षीय भेटमा उच्च महत्त्वाकांक्षी आर्थिक साझेदारी सम्झौता (सीईपीए) पुनर्जीवित गर्ने सहमति बनेको हो।

दुवै मुलुकले २०३० सम्म द्विपक्षीय व्यापार दोब्बर वृद्धि गरी ५० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित वार्ता अघि बढाउने घोषणा गरेका छन्। प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत व्यापार पुनःसुरु अघि बढेसँगै क्यानडा–भारत व्यापार ७० अर्ब क्यानेडियन डलरभन्दा माथि पुग्न सक्ने बताएकी छन्।

वार्तामा दीर्घकालीन आणविक सहयोगलाई जारी राख्ने प्रतिबद्धता पनि दुवै देशले दोहोर्‍याएका छन्। भारतीय प्रधानमन्त्री कार्यालयका अनुसार युरेनियमको स्थायी आपूर्ति तथा अन्य ऊर्जा–सम्बन्धी सहकार्य विस्तारबारे छलफल भएको छ।

क्यानडाले सन् २०२३ मा क्यानेडेली सिख पृथकतावादी नेताको हत्या विवादपछि व्यापार वार्ता स्थगित गरेको थियो। तर गत वर्ष जी–७ शिखर सम्मेलनमा दुवै नेताबीचको भेटपछि सम्बन्ध सुधारिएको देखिएको थियो।

हाल क्यानडा–भारतबीच वस्तु तथा सेवा व्यापार ३१ अर्ब क्यानेडियन डलर बराबर रहेको सरकारी तथ्यांकले जनाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : २० बजे