कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले मृतक जोशीको परिवारलाई मानवीय आधारमा दुई लाख रुपैयाँ सहयोग गर्न लागिएको जानकारी दिएका हुन्। यसअघि प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको परिवारलाई जनही दुई लाख रुपैयाँ दिने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार सात जनाका परिवारलाई सहयोग वितरण भइसकेको र अब जोशीको परिवारलाई पनि उक्त सहयोग दिइने मुख्यमन्त्री शाहले बताएका छन्।
विपीन जोशी दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक उत्तीर्ण गरी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नका लागि इजरायल गएका थिए। हमासको हालैको आक्रमणमा परी उनीसहित दश नेपाली विद्यार्थी प्रभावित भएका थिए।
स्व. जोशीको पार्थिव शरीर सोमबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थल ल्याइएको हो। त्यसपछि पार्थिव शरीर कञ्चनपुरस्थित परिवारलाई बुझाइएको छ।
मुख्यमन्त्री शाहले स्व. जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
प्रतिक्रिया