Logo

मुख्य समाचार

चाडपर्वको मौसममा फोहोरबाट मोहोर कमाउँदै सर्लाहीका कवाडी संकलकहरू



सर्लाही । दशैं सकिएलगत्तै दिपावली र छठ पर्व नजिकिँदै गर्दा सहर, बजारदेखि गाउँसम्म कवाडी सामान संकलन गर्नेहरूको चहलपहल बढेको छ । यतिबेला साइकल र ठेला बोकेर टोलटोलमा पुग्ने कवाडीवालाहरू घर सफा गर्ने क्रममा निस्केका पुराना कागज, प्लास्टिक र धातुजन्य सामान संकलन गर्दै व्यस्त देखिन्छन् ।

सर्लाहीको मलंगवा नगरपालिका क्षेत्रभित्र मात्रै आधा दर्जनभन्दा बढी कवाडी संकल केन्द्रहरू रहेका छन् । ती केन्द्रहरूमा झण्डै पाँच दर्जन नेपाली र भारतीय नागरिक रोजगारीमा संलग्न छन् । तीमध्ये भारतीयहरूको संख्या बढी रहेको पाइन्छ । उनीहरू आफ्नो देश छाडेर नेपालमा मेहनत मजदुरी गर्दै परिवार पालिरहेका छन् भने धेरै नेपालीहरू भने वैदेशिक रोजगारीको सपना बोकेर घरमै बसिरहेका छन् ।

भारतको सितामढी जिल्लाका रामजी दासले विगत १० वर्षदेखि मलंगवामा कवाडी संकलन गर्दै आएका छन् । उनका अनुसार अन्य समयमा भन्दा दिपावलीको बेला कमाइ बढी हुन्छ। तर, पछिल्लो वर्षदेखि व्यापारमा गिरावट आएको छ । “पहिला कवाडी संकलक कम थिए, पुराना सामान सजिलै पाइन्थ्यो । अहिले संकलक बढेपछि सामान पाउनै गाह्रो भएको छ, आम्दानी पनि आधा घटेको छ,” उनले भने ।

कवाडी संकलकहरूका अनुसार मानिसहरूले वर्षमा एकपटक दिपावलीका बेलामा घर सफा गर्ने हुँदा यही समयमा धेरै अनुपयोगी सामान फ्याँकिन्छ । त्यसैले उनीहरूका लागि यो चाडवाड कमाइको मुख्य सिजन मानिन्छ । मानिसहरूले वर्षभर जम्मा गरेका सामान पनि यही बेला बेच्ने भएकाले बजारमा कवाडी सामानको आपूर्ति बढ्ने गर्छ ।

तर, संकलन केन्द्रका मालिकहरू भने फरक पीडा सुनाउँछन् । उनीहरूका अनुसार राजश्व बुझाउनुपर्ने झन्झट र गोदाममा राखिएका सामान चोरी हुने समस्याले नाफा घटाएको छ । ‘कवाडीवालाले राम्रो कमाउँछन् तर हामीले कर र चोरीका कारण घाटा सहनुपर्छ ।’ एक संकलन केन्द्रका सञ्चालकले बताए ।

हाल बजारमा फलाम प्रतिकिलो ५० रुपैयाँ, प्लास्टिक २० रुपैयाँ, कागज १५ देखि २० रुपैयाँ र सिसाको बोतल एकदेखि डेढ रुपैयाँमा खरिद हुने गरेको छ । कवाडीवालाले यी सामान संकलन केन्द्रमा प्रतिकिलो पाँच रुपैयाँसम्म नाफामा बेच्ने गर्छन् ।

बिहानैदेखि साइकलमा टोलटोल घुम्दा उनीहरू दैनिक ६ देखि ८ सय रुपैयाँसम्म कमाइ हुने बताउँछन् । गाउँगाउँबाट संकलित यी पुराना सामान संकलन केन्द्रले उद्योगमा पठाएर पुनः प्रशोधन गरी प्रयोगमा ल्याउँछ । यसरी हेर्दा कवाडी व्यवसाय केवल आम्दानीको स्रोत मात्र नभई फोहोर व्यवस्थापन र वातावरण संरक्षणसँग जोडिएको दिगो रोजगारीको माध्यम पनि बनेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ९ : २२ बजे