काठमाडौं । देशका विभिन्न भागहरू, विशेषगरी मध्यम तथा पूर्वी भूभाग, हालसालैको अत्यधिक वर्षाबाट सिर्जित बाढी, पहिरो, सडक अवरोध र अन्य दुर्घटनाहरूले प्रभावित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर सरोकार व्यक्त गर्दै राहत र उद्धारमा थप सक्रियता ल्याउन आज साँझ ७ बजे भर्चुअल बैठक आह्वान गरेको छ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार, उद्धार तथा राहत कार्यमा रास्वपाका सम्पूर्ण संयन्त्रहरू राज्य संयन्त्रसँग समन्वयमा रही सिप, स्रोत र जनशक्तिको पूर्ण प्रयोगसहित क्रियाशील रहँदै आएका छन् । आजको बैठकका मुख्य एजेन्डाहरू नेपालभित्र तथा प्रवासमा रहेका सबै सदस्यहरूलाई बैठकमा सहभागी हुन आह्वान गरिएको छ ।
जिन्सी सामग्रीको सहयोग गर्न इच्छुक सदस्यहरूले सम्बन्धित सरकारी निकायमार्फत वितरणको तयारी र विवरणसहित बैठकमा सहभागी हुने तथा आर्थिक सहयोग गर्न चाहनेले नेपाल सरकारले तोकेको खातामा रकम जम्मा गरी सो विवरण बैठकमा प्रस्तुत गरिने छ ।
अझै जोखिममा रहेका जिल्लाहरूमा आवश्यक सहयोगको प्राथमिकता पहिचान गरी त्यससम्बन्धी विवरणसहित बैठकमा सहभागी हुन आग्रह गरिएको छ । रास्वपाले सबै सदस्य र सरोकारवालालाई विपद् व्यवस्थापनमा जुट्न आह्वान गर्दै मानवीय संवेदनशीलता र सहकार्यको खाँचो औंल्याएको छ ।
प्रतिक्रिया