Logo

Breaking News 1

दशैंमा देवीलाई खुशी पार्ने बस्तुहरु के के हुन् ?


१४ आश्विन २०८२, मंगलबार  

46
Shares

दशैं पूजाको क्रममा अष्टाङ्ग बलि दिने चलन छ । अष्टाङ्ग बलि भन्नाले दुई किसिमका पूजा विधि बुझिन्छ—सात्विक र तामसिक । सात्विक पूजामा घिउ, मह, सख्खर, दही, दूध, पान, फलफूल, मिष्ठान्न चढाइन्छ भने तामसिक पूजामा माछा–मासु, राँगो, भेडा, हाँस, कुखुरा आदिको प्रयोग गरिन्छ ।
कीर्तिनाथ मिश्र
संस्कृति अध्येता

काठमाडौं । बडादशैं किन मनाइन्छ भन्ने प्रश्नमा संस्कृती अध्येता कीर्तिनाथ मिश्रले दिएको व्याख्या चण्डीको किताबसँग जोडिन्छ । किताबको तेह्रौँ अध्यायमा भगवतीले नै आदेश दिएको छ—शरद ऋतुमा बलिसहित तन्त्र विधान अनुसार पूजा गरे म सधैं प्रसन्न हुनेछु ।

यसरी महिषासुर, चण्डमुण्ड, शुम्भ–निशुम्भ जस्ता दानवहरूको अन्त्य भएपछि देवता र मनुष्य सबै एकत्र भएर भगवतीलाई प्रार्थना गर्दै खुसी पार्दा भगवतीले भविष्यमा पनि पूजा गर्न आदेश दिएको विश्वास आजसम्म निरन्तर रहँदै आएको छ ।
उनले घटस्थापनामा भगवतीको आह्वान विशेष महत्व राख्छ । कतिपय घरमा नौवटा कलश राखिन्छ, कतिपयमा एउटै कलशमा नौ देवीहरूको आवाहन गरिन्छ । जमरा भगवतीलाई प्रिय वस्तु भएकाले अनिवार्य रूपमा प्रयोग हुन्छ । जौंको जमरा औषधीय दृष्टिले पनि लाभकारी मानिन्छ । मकै मिसाएर राख्ने चलन प्रसाद वितरणका लागि प्रचलनमा आएको हो, जसलाई औषधीय गुणयुक्त पनि भनिन्छ ।

नवरात्रका प्रत्येक दिन फरक–फरक देवीको पूजा हुन्छ । पहिलो दिन शैलेपुत्री, दोस्रो दिन ब्रह्मचारिणी (महेश्वरी), तेस्रो दिन चन्द्रघन्टा (कुमारी), चौथो दिन कुष्माण्डा (भद्रकाली), पाँचौँ दिन स्कन्दमाता (बाराही), छैठौँ दिन कात्यायनी (इन्द्रायणी), सातौँ दिन कालरात्रि (महाकाली), अष्टमीमा महागौरी, नवमीमा सिद्धिदात्री (त्रिपुरासुन्दरी) को पूजा गरिन्छ । दशमीमा सबै देवीहरूलाई समेटेर विसर्जन पूजा हुन्छ ।

प्रत्येक दिन भगवतीलाई मनपर्ने वस्तु चढाउने परम्परा पनि छ । घटस्थापनामा घिउ, दोस्रो दिन सखर, तेस्रो दिन दूध, चतुर्थीमा मालपुवा, पाँचौँ दिन केरा, छैठौँ दिन मह, सप्तमीमा चाकु साराई, अष्टमीमा हलुवापुरी, नवमीमा खीर र लावा, दशमीमा कालो तिल, एकादशीमा दही, द्वादशीमा चिउरा, त्रयोदशीमा सातु, चतुर्दशीमा चना भुटेको र पूर्णिमामा खीर चढाउने चलन रहिआएको छ ।

पूजाको क्रममा अष्टाङ्ग बलि दिने चलन छ । अष्टाङ्ग बलि भन्नाले दुई किसिमका पूजा विधि बुझिन्छ—सात्विक र तामसिक, सात्विक पूजामा घिउ, मह, सख्खर, दही, दूध, पान, फलफूल, मिष्ठान्न चढाइन्छ भने तामसिक पूजामा माछा–मासु, राँगो, भेडा, हाँस, कुखुरा आदिको प्रयोग गरिन्छ । यसैमा भटमासलाई बोकाको प्रतिक, नरिवललाई पनि बोकाको प्रतिक, अदुवालाई झारपात, माछालाई जलचरको प्रतिनिधि मान्ने परम्परा रहिआएको छ । परम्परागत रूपमा आठ प्रकारका बलि मानिन्थ्यो तर अहिले कानुनी र व्यावहारिक कारणले सम्भव नभएकाले विशेष गरेर पञ्चबली (राँगो, बोका, भेडा, कुखुरा, हाँस) प्रचलनमा छ । सात्विक विधिमा भने घिरौंला, मुला, अम्बा, केरा, कुबिन्डो जस्ता तरकारी तथा फलफूल चढाउने गरिन्छ ।

काठमाडौं उपत्यकाका नेवार समुदाय प्रायः तन्त्र विधान अन्तर्गत पर्ने भएकाले तामसिक पूजा विधि नै बढी प्रचलित छ । सात्विक पूजामा भने पशु–बलि आवश्यक पर्दैन । साथै, दशैंलाई जुनसुकै अवस्थामा पनि छाड्न नहुने चाड मानिन्छ । जुठो परेको घरमा समेत विवाह वा सामाजिक कार्य नगरे पनि १३ दिनपछि विवाह भएर गएको छोरी–बेटीमार्फत जमरा हाल्ने परम्परा कायम रहन्छ ।

फूलपातीमा प्रयोग हुने वस्तुहरूको पनि फरक महत्त्व छ । भगवतीलाई आराधना गर्दा उखु, जमरा, धान, केराको पात, जटापुष्प आदि नभई नहुने वस्तु मानिन्छन् । सात्विक पूजामा फलफूलले स्थान पाउँछ भने वैदिक र तान्त्रिक विधिमा तान्त्रिक सामग्री प्रयोग हुन्छ ।

यसको साथै, उनका अनुसार नवरात्रको पूजा तोडफोड गर्न नहुने कडा मान्यता छ । सप्तमीमा सप्तमीकै पूजा, अष्टमीमा अष्टमीकै पूजा, नवमीमा नवमीकै पूजा गर्नुपर्छ । तिथि लोप भए मात्र अर्कै विधि अपनाइन्छ । सप्तमीमा कालरात्रि पूजा र अष्टमीमा गौरीको पूजा गरिन्छ ।

पूजाको मूल कर्म पहिले मैथिली ब्राह्मणले गर्ने चलन थियो तर जयस्थिति मल्लको पालादेखि कर्मचार्य समुदायले पनि पूजा कर्म गर्ने परम्परा सुरु भएको हो । आज काठमाडौं उपत्यकाभर कर्मकाण्ड प्रायः कर्मचार्य र राजोपाध्यायहरूले गर्ने गर्छन्, कतैकतै बज्राचार्य पुरोहितहरूले पनि गर्छन् ।

यस्तैगरि, नेपालमा दशैँको बेला रातो टीकाको साथै सेतो टीका लगाउने पनि चलन रहि आएको उनी बताउँछन् । यसबारेमा भने मिश्रले सेतो र रातो टीका लगाउने कुरा इष्टदेवता अनुसार भिन्न हुने बताए । उनले कतै भगवती, कतै शिव, कतै नारायणलाई प्रिय मान्ने हुनाले दशैंमा आफूले मान्ने देवताको प्रिय वस्तु अनुसार टीका लगाउने गरिन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ८ : ३४ बजे