Logo

प्रदेश

‘जेनजी’ प्रदर्शनमा क्षतिग्रस्त नगरपालिका भवन अवलोकनमा मुख्यमन्त्री शाह



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ प्रदर्शनका क्रममा कैलालीका तीन नगरपालिकामा भएको क्षतिको अवलोकन गरेका छन्। आइतबार उनले घोडाघोडी, गोदावरी र गौरीगङ्गा नगरपालिकाका क्षतिग्रस्त संरचनाको निरीक्षण गरे।

घोडाघोडी नगरपालिका प्रमुख खडक रावतका अनुसार आन्दोलनका कारण नगरपालिकामा करिब आठ करोड ५० लाख २५ हजार रुपैयाँको क्षति भएको छ। जसमा जिन्सी सामानतर्फ तीन करोड ५० लाख ९७ हजार ७०० र पूर्वाधारतर्फ ७० लाख रुपैयाँ क्षति भएको उनले बताए। नगरपालिकाका १२ वडामा जिन्सीतर्फ दुई करोड २९ लाख २८ हजार र पूर्वाधारतर्फ दुई करोड रुपैयाँ क्षति पुगेको छ।

गोदावरी नगरपालिकामा नौ करोड रुपैयाँ र गौरीगङ्गामा सात करोड १२ लाख रुपैयाँ बढी क्षति भएको प्रदेश सरकारलाई बुझाइएको छ। कैलालीमा सबैभन्दा बढी क्षति यी तीन नगरपालिकामा भएको जनाइएको छ।

मुख्यमन्त्री शाहले पुनर्निर्माणका लागि सबै तहका निकाय एकजुट हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकार प्रभावित नगरपालिकामा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले प्रदेश सरकार खर्च कटौतीमा लागेको र पालिकाहरूलाई पनि खर्च कटौतीतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए।

नगरपालिकाका अनुसार पुनर्निर्माण नगरेसम्म नगरप्रमुख र उपप्रमुखको कार्यकक्षबाट सेवा दिन कठिन रहेको छ। दसैँ र तिहारबीच कार्यालयहरू पुनर्निर्माण गरी तिहारपछि नियमित सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : ५२ बजे