पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा फेरि आगजनी भएको छ। गए राति करिब साढे २ बजे अज्ञात व्यक्तिहरूले निवासको बाँकी कोठामा आगो लगाएको प्रदेश सरकारका अधिकारीहरूले जनाएका छन्।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा परेको सो निवास प्राविधिक समितिको प्रतिवेदनपछि मर्मत गर्न तयारी भइरहेका बेला पुनः आगजनी भएको हो। पहिलेको आगजनीमा कम क्षति पुगेको एक मात्र कोठामा राखिएका खाट, कार्पेट र अन्य सामानमा यसपटक क्षति पुगेको छ।
प्रदेश सरकारको तथ्यांकअनुसार जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशमा १२ वटा सरकारी कार्यालय प्रयोग गर्नै नसकिने गरी ध्वस्त भएका छन् भने ४८ भवनमा क्षति पुगेको छ। सरकारका अनुसार आन्दोलनका कारण प्रदेशका संरचनामा करिब दुई अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ।
प्राविधिक समूहले सबैभन्दा बढी क्षति प्रदेश प्रमुखको निवासमा पुगेको जनाएको छ। प्रदेशसभा परिसरभित्रका संसदीय दलका कार्यालय, कर्मचारी निवास, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन र अन्य मन्त्रालयका भवनहरू समेत पूर्णरूपमा ध्वस्त भएका छन्।
प्रतिवेदनअनुसार अत्यन्तै जोखिमपूर्ण भवनहरू ‘रातो सूची’मा, मध्यमस्तरको क्षति भएका भवनहरू ‘पहेंलो सूची’मा र तुलनात्मक रूपमा सुरक्षित भवनहरू ‘हरियो सूची’मा परेका छन्।
प्रतिक्रिया