कोलम्बो । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)का अनुसार हालैको स्थल कारबाहीका कारण गाजा सहरबाट करिब ४८ हजार प्यालेस्टिनी दक्षिणतर्फ विस्थापित भएका छन्।
ओसीएचएका अनुसार अगस्त मध्यदेखि हालसम्म करिब एक लाख ९० हजारभन्दा बढी व्यक्तिहरू गाजा सहर छोडिसकेका छन्। विस्थापितहरू अत्यधिक गर्मीका बीच पैदलै यात्रा गर्न बाध्य छन्।
संयुक्त राष्ट्रका साझेदार संस्थाहरूले करिब १ हजार ५०० व्यक्तिहरूलाई, जसमा ९०० भन्दा बढी बालबालिका छन्, मानसिक सहयोग, खानेपानी र औषधोपचार उपलब्ध गराएका छन्।
गाजाका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा अत्यधिक चाप परेको ओसीएचएले जनाएको छ। अल–कुद्स अस्पताल नजिकैको आक्रमणले अस्पतालमा क्षति पुर्याएको छ र विस्थापितहरू त्यहीँ आश्रय लिइरहेका छन्। संयुक्त राष्ट्रद्वारा सञ्चालित ६ स्वास्थ्य केन्द्रमध्ये हाल तीनवटा मात्र सञ्चालनमा छन्।
जिकीम सीमा नाका चार दिनदेखि बन्द रहेकाले इन्धन र औषधिसहितको आपतकालीन सेवा अवरुद्ध भएको ओसीएचएले जनाएको छ। सहायता बोकेका सवारी साधन ढिलो हुने र बाटोमै अड्किने समस्या देखिएको छ।
ओसीएचएले यी चुनौतीबीच पनि गाजा क्षेत्रमा अत्यावश्यक सेवा प्रदान गर्न निरन्तर प्रयास भइरहेको जनाएको छ।
प्रतिक्रिया