Logo

विश्व

ट्रम्पको ‘ट्यारिफ’ चेतावनीमा चीनको आपत्ति



काठमाडौं — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि ५० देखि १०० प्रतिशतसम्म आयात कर (ट्यारिफ) लगाउने चेतावनी दिएपछि चीनले कडा प्रतिक्रिया जनाएको छ।

ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत नेटो देशहरूले चीनमाथि उच्च कर लगाउनुपर्ने बताएका थिए। रुस–युक्रेन युद्ध जारी रहुञ्जेल कर कायम राख्नुपर्ने उनको भनाइ थियो। उनले चीनको रुसमाथिको प्रभाव घटाउन शक्तिशाली कर आवश्यक हुने दाबी गरेका थिए।

यसप्रति चीनका विदेशमन्त्री वाङ यीले स्लोभेनियामा पत्रकार सम्मेलनमार्फत प्रतिक्रिया जनाउँदै प्रतिबन्ध र करले समस्या समाधान नगर्ने बताएका छन्। उपप्रधान एवं विदेशमन्त्री तान्या फयोनसँगको भेटपछि वाङले युद्धले होइन, शान्ति वार्ताले मात्रै समाधान खोज्न सकिने जिकिर गरे। उनले चीनको युद्धमा भाग लिने कुनै योजना नभएको स्पष्ट पारे।

वाङले चीन र युरोपबीच प्रतिस्पर्धा होइन, सहकार्य हुनुपर्ने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तलाई मिलेर जोगाउन जोड दिए।

यसअघि ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङमाथि अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए। सेप्टेम्बर ३ मा चीनले आयोजना गरेको ठूलो सैन्य परेडमा उत्तर कोरियाका नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएपछि ट्रम्पको आरोप थप कडा भएको थियो।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ३ : ०२ बजे