काठमाडौं – शीतलनिवासमा शुक्रबार दिनभर चलेको राजनीतिक परामर्शपछि प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको छ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन र नयाँ सरकार गठनको निर्णयसम्बन्धी मस्यौदा तयार गर्न निर्देशन दिएका छन्। पौडेल प्रारम्भमा संसद् विघटनबिना सरकार गठनको पक्षमा भए पनि दबाबपछि आफ्नो अडान परिवर्तन गरेका हुन्।
स्रोतका अनुसार आन्दोलनरत युवाले शीतलनिवास घेराउको चेतावनी दिएको र प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्शपछि राष्ट्रपति पौडेल सहमत भएका हुन्।
यसअघि दलहरूले संसद् कायम राखेरै कार्कीलाई सरकारको नेतृत्व दिनुपर्ने सुझाव दिएका थिए। तर, कार्कीले संसद् यथावत रहँदा सरकार नसम्भाल्ने अडान लिएकी थिइन्। काठमाडौं महानगरका मेयर बालेन शाहलगायतले पनि संसद् विघटनलाई न्यूनतम पूर्वशर्त बताउँदै आएका थिए।
राजनीतिक गतिरोधबीच प्रधानसेनापति अशोकराज सिग्देलले संकटकाल लाग्न सक्ने चेतावनी दिँदै दलहरूलाई सचेत गराएका थिए। तर, दोस्रो तहका नेताहरूले संकटकाल अस्वीकार गर्दै सडक आन्दोलनमा जाने चेतावनी दिएका थिए।
जेनजी आन्दोलनतर्फबाट अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीको नाम प्रस्ताव भएपछि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सो प्रस्ताव मान्य गरेका थिए। यद्यपि, संविधानिक संरचना भित्रै समाधान खोज्नुपर्नेमा दलका नेताहरू जोड दिएका थिए।
शीतलनिवासमा बिहीबार राति र शुक्रबार बिहानसम्म भएका वार्तामा निष्कर्ष ननिस्किए पनि शुक्रबार साँझसम्म प्रमुख दलबीच सहमति जुटेको स्रोतले जनाएको छ। यसअनुसार प्रतिनिधि सभा विघटनपछि कार्कीलाई आजै प्रधानमन्त्रीको शपथ गराइने तयारी भएको छ।
प्रतिक्रिया