Logo

समाचार

मेरो सबै सकियो तर विचलित भएको छैन् : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका कारण आफ्नो घर जलेर ध्वस्त भएको र परिवारसहित जोखिममा परेको जानकारी दिएका छन् ।

बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै उनले मंगलबार भएको हिंसामा उनका ७७ वर्षीय बुबा, ७२ वर्षीय आमा र राजनीति चासो नराख्ने श्रीमतीमाथि जिउँदै आगो लगाउने प्रयास भएको बताएका छन् ।

उनले आफ्नो घर ध्वस्त भएको र दुई करोड ५० लाख रुपैयाँ ऋण बोकेको सामाजिक सन्जाल मार्फत नै  जानकारी  दिएका हुन् । यसमा वाणिज्य बैंक बानेश्वर शाखाबाट एक करोड, शंखधर सहकारी ठिमीबाट ६५ लाख र साना किसान सहकारी गुण्डुबाट ८५ लाख रुपैयाँ रहेको बताए ।

बस्नेतले आन्दोलनमा भएको घुसपैठ र जेलबाट रिहा भएका अपराधीप्रति आपत्ति जनाउँदै यसले हिंसा बढाएको दाबी गरेका छन् । उनले निर्दोष रहे पीडाको मुआब्जा र घर पुनर्निर्माणको माग गर्दै दोषी भए उचित सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।

उनले लेखेका छन्,‘छोराछोरी, परिवार र आफन्तहरूले मलाई एक शब्द पनि नबोल्न भने ।   भन्छन्,‘बोल्यौं भने भेटे भने हत्या गर्छन ।’

‘म जीवनमा कहिल्यै मृत्युको भयबाट डराइन । हिजो दिनभरि र रातभरि शरणार्थी  जीवन बिताइयो । तर  मौन बस्न सकिनँ ।

हाम्रो घर मात्र जलाइएको भए नलेखौ भन्ने म नै थिए । तर संसद भवन जल्यो, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, अख्तियार भवन, प्रहरी प्रशासनका भवनहरू, निजी होटलहरू जले, भाटभटेनी, बैंकहरू लुटिए । पशुपतिनाथको मन्दिर नै जलाउने प्रयत्न भएको छ । तर त्योभन्दा भयावह त के भयो भने रवि लामिछाने सहित हजारौं गम्भीर अपराधमा संलग्न कैदीहरु जेल जीवनबाट मुक्त गरिएको छ ।

७७ वर्षका मेरा निर्दोष बुबा, ओपन हर्ट सर्जरी गराएकी ७२ वर्षकी आमा, राजनीति चासो नै नराख्ने मेरी श्रीमतीलाई आफ्नै घरमा आगो लगाउँदै त्यही भुंग्रोमा जिउँदै जलाउने प्रयास गरियो । हामी धेरथोर पुर्खौली सम्पत्तिका कारण सुकुम्बासी त भएका छैनौ, तर आज घरबारविहीन भएका छौँ । आमाबुबाले खुवाउने औषधि  र एक जोर फेर्ने कपडा पनि झिक्न नदिई । घरभित्रका सम्पूर्ण सामग्री जलाएर ध्वस्त पारिएको छ ।

म कठोर समयको सजाय भोग्दैछु । देशलाई जीवन समर्पण गरेको अपराधका लागि । भक्तपुरको विकासका लागि अकल्पनीय योगदान गरेको अपराधका लागि दिनरात घरघर पुगेको, जनताको सुखदुःख आफ्नै मानेर समाधान गर्न खोजेको मान्छे म आज घरबारविहीन बनेको छु ।

भूकम्पको बेला २८०० घरबारविहीनलाई राहत र पुनस्र्थापनाको अभियान चलाउँदा अस्थायी घर बनाएर वितरण गर्दा उनीहरूको भक्कानेको पीडा सुन्दै आँसु पुछेको थिएँ । आज आफ्नै आँसु  देखाउन सक्दिन् । जिम्मेवारीले रुनपनि अनुमति दिँदैन ।

नाकाबन्दीको पीडामा कोभिडको लकडाउनमा हजारौं भोकाहरुलाई भोकाहरुलाई खाना खुवाएर उनीहरुको घर सम्मको जाने व्यवस्था गरेर उनीहरुको पीडामा मलम लगाएको थिए। तर म आज आफु पीडामा छु भन्न पनि नमिल्ने ठाँउमा छु । परिस्थितिको यो कस्तो बाध्यता हो ?

मैले सांसद या मन्त्रीको कुनै जिम्मेवारी पाउनुभन्दा अगाडि १४ वर्ष पहिले बुवाले जागिरे हुँदा कमाएक सम्पुर्ण पसिनाको पैसा र केही जग्गा बेचेर बनेको त्यो घर आज धुलोमा परिणत भयो।उपत्यकाका मान्छेहरू हामी कोठाभाडामा खासै बस्दैनौँ । तर अब लामो समय हामी घरबारविहीन भएर भाडामा बस्दैछौँ ।

अब जमिन नबेची नयाँ घर बनाउन सम्भव छैन । राजनैतिक यात्रा , छोरीको विवाह, अन्य घर व्यवहारमा भएको खर्च जोड्दा मैले २ करोड ५० लाख रुपैयाँ ऋण (बाणिज्य बैंक बानेश्वर शाखाबाट १ करोड, शंखधर सहकारी ठिमीबाट ६५ लाख, साना किसान सहकारी गुण्डुबाट ८५ लाख) बोकेको छु । तर यो सहयोगको याचना होइन ।

भ्रष्टाचार, अपराध, राष्ट्रघात नगरी, केवल जनताको पक्षमा काम गरे तर पपुलिष्टहरूले सुन्न नचाहेको कुरा बोलेको सजाय स्वरूप मेरो घर जलाईएको र घरबार विहीन बनाइएको पिडा हो ।

म निरह्य भएको प्रहरी प्रशासनप्रति र मनमा असंख्य माया भएर पनि सम्झाउन र फर्काउन नसकेको मेरो टोलछिमेकप्रति  मेरो माया र सद्भाव अटल छ ।  म विचलित छैन ।

राजनीति रहने कि नरहने त्यो अर्को पाटो हो । तर म सधैं जनताको सेवा गर्न जन्मेको मान्छे हुँ। आज घरबार गुमाए पनि, दुःख पीडा छिपाएर पनि तपाईंहरूको सेवामा उभिनेछु । जसरी चुनाव जित्दा वा हार्दा पनि म तपाईंहरूको सेवामा थिएँ, आज पनि त्यही प्रतिबद्धता दोहोर्याउँछु ।

यो आन्दोलनमा मृत्यु भएका र घाइते भएका परिवारलाई त्यो अवसर प्राप्त भयो भने सकेसम्म सहयोग गर्ने प्रतिज्ञा गर्दछु ।

मैले पहिले पनि भनेको थिएँ गलत मानिसहरूले घुसपैठ गरे भने न्भल श् को नाममा हिंसा हुन्छ। त्यो आज प्रमाणित भयो । धेरै अपराधी जेलबाट बाहिर आएका छन्। सेना सडकमा आउन बाध्य भएको छ ।

अझै पनि अपराधीहरू लुटपाट गरिरहेका छन् । देशलाई माओवादी युद्ध, मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, कोभिडले थिलोथिलो पारे पनि हामी फेरि आर्थिक सुधार र विकासतर्फ अघि बढ्दै थियौँ ।

तर आजको यो घटनाले फेरि देशलाई १०–१२ वर्ष पछाडि धकेलेको छ।अब जिम्मेवारी तपाईं आन्दोलनकारीहरूको हातमा छ।देशलाई बर्बादीतिर लैजानुहोस् वा बचाउनुहोस। निर्णय तपाईंको हो ।

हामीमाथि शंका छ भने अनुसन्धान गर्नुहोस्। दोषी ठहरिए सजाय भोग्ने छौ । तर निर्दोष ठहरिए भने हाम्रो घर जलेर, जीवनभरको कमाइ खरानी भएर, परिवार असहाय भएर भोगेको यो पीडाको उपचार कसरी हुन्छ?

मेरो घरको लकर फेला परेको भनेर हल्ला फैलाइयो। म आग्रह  गर्दछु आन्दोलनका कमाण्डरहरूले पत्रकारहरूको सामु त्यो लकर खोलून् । यदि त्यहाँ एक हजार रुपैयाँ  भेटिन्छ भने मलाई दोषी ठहराउनुस् ।

आज हाम्रो परिवारसँग एक जोर कपडा र हजार रुपैयाँ  रकम पनि साथमा छैन।तर मेरो विश्वास अझै बाँकी छ ।

 विभेद रहित भ्रष्टाचारमुक्त समाज, राज्य पुनःसंरचना गर्ने, नयाँ नेतृत्व ल्याउने जनताको पवित्र उद्देश्यलाई अपराधी र अन्तर्राष्ट्रिय स्वार्थी समूहले कब्जा गर्न नदिऊ।देशका लागि मेरो हार्दिक शुभकामना ।

मेरो घर खरानी भयो, तर जनताप्रतिको मेरो माया कहिल्यै खरानी हुने छैन। देशको विकास र जनताको सेवामा सधैँ खरानी भएर खट्न तयार छ’ु ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : ०१ बजे