Logo

Breaking News 1

‘वर्षा र उर्वरताका देवता इन्द्रको आराधना गर्नुको रहस्य’



इन्द्रजात्राको मूल विधि भनेको वसन्तपुर दरबार क्षेत्रमा कालभैरव अगाडि लिङ्गो ठड्याउनु हो । जसलाई स्थानीय भाषामा ‘यः सिं’ भनिन्छ र यो लिङ्गो कुनै साधारण तरिकाले नभई तान्त्रिक विधिबाट ठड्याइन्छ भन्ने विश्वास छ ।
क्षत्रबहादुर कायस्थ
संस्कृतिविद्

काठमाडौं । काठमाडौं उपत्यकाको सांस्कृतिक पहिचानसँग गाँसिएको इन्द्रजात्रा केवल ऐतिहासिक वा सांस्कृतिक पर्व मात्र होइन, यसमा गहिरो धार्मिक मान्यता पनि जोडिएको छ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर यस पर्वको सुरुवात गरिन्छ ।

यसै दिनदेखि आश्विन कृष्ण चतुर्थीसम्म मनाइने यस पर्वलाई नेवारी भाषामा ‘येँया पुन्ही’ भनिन्छ, जसको अर्थ काठमाडौंको पर्व भन्ने हुन्छ । लिङ्गो ठड्याएर सुरु हुने जात्राले काठमाडौं, भक्तपुर र ललितपुर मात्र नभई आसपासका बस्तीहरूमा पनि धार्मिक र सांस्कृतिक चेतना जगाउने संस्कृतविद् क्षत्र बहादुर कायस्थले बताएका छन् ।

उनको अनुसार भक्तपुरमा दोबाटोमा छोटो लिङ्ग ठड्याउने चलन छ, जसलाई ‘यम्बोःद्यो’ भनिन्छ र यसलाई इन्द्रका छोरा जयन्तको प्रतीकका रूपमा व्याख्या गरिन्छ । उनका अनुसार इन्द्रजात्राको मूल विधि भनेको वसन्तपुर दरबार क्षेत्रमा कालभैरव अगाडि लिङ्गो ठड्याउनु हो । जसलाई स्थानीय भाषामा ‘यः सिं’ भनिन्छ र यो लिङ्गो कुनै साधारण तरिकाले नभइ तान्त्रिक विधिबाट ठड्याइन्छ भन्ने विश्वास छ ।

यस लिङ्गोमा अंकित पाताहरूमा सुनको जलप राख्ने गरिन्छ र इन्द्र विराजमान ऐरावत हात्तीको प्रतिमा पनि तयार पारिन्छ । यसै दिन श्वेत भैरवको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ । जसलाई वर्षमा एकपटक मात्र हेर्ने अवसर पाइन्छ भन्ने धार्मिक मान्यता छ ।

उनले आफूले गरेको अभिलेख अध्ययन अनुसार इन्द्रजात्रा आठ दिन मनाउने भन्ने कुरा उल्लेख गरिएको छ तर आठ दिन भनेको जात्रा १० दिन पुग्ने भन्दै इन्द्र जात्रा पहिले पहिले टोल टोलमा, काठमाडौँको इन्द्रचोकमा खट राखेर मनाउने गरेको बताए ।

इन्द्रजात्रासँग विभिन्न किंवदन्तीहरू पनि जोडिएका छन् । जनश्रुति अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमा वसुन्धराको व्रत पूरा गर्न पारिजातको फूल खोज्दै पृथ्वीमा आएका थिए । उनले वर्तमान भीमसेनस्थान नजिकै रहेको एक बगैंचाबाट कसैको अनुमतिविना फूल टिप्न खोजेपछि तान्त्रिक विद्या जाने मालीले उनलाई समाते । त्यसपछि इन्द्रलाई राजा समक्ष पेश गरियो र चोकमा लिङ्गोमा बाँधेर सबैले देख्ने गरी राखियो । यसरी फूल खोज्न पृथ्वीमा आएका इन्द्र मानव समुदायकै हातबाट सजाय पाइरहेका थिए ।

लामो समयसम्म छोरा नफर्किएपछि आमा वसुन्धराले ऐरावत हात्तीलाई इन्द्र खोज्न पठाइन् । हात्तीले भिडभाडबीचमा परेका इन्द्रलाई भेट्यो । पछि वसुन्धरा पनि बौलाहीको भेषमा आफ्ना छोरालाई खोज्दै आइन् । केही किंवदन्ती अनुसार उनले धानबाली समयमै पाक्ने र मरेकालाई स्वर्ग पुर्याउने बाचा गरेर इन्द्रलाई छुटाइन् । अर्का केही विश्वासअनुसार उनले एक्कासी तुवालो खडा गरेर कसैले कसैलाई नदेख्ने बनाएर इन्द्रलाई भगाइन् । यसरी छुटेपछि इन्द्र र वसुन्धराले थानकोटमा रहेको इन्द्रदहमा स्नान गरेर स्वर्ग गएका थिए भन्ने भनाइ छ ।

यस बाचाअनुसार नै त्यसपछि काठमाडौंका खेतबारीहरूमा अन्नबाली राम्रो हुन थाले र दिवंगत आत्माहरू स्वर्ग पुग्ने मार्ग खुलेको विश्वास गरिन्छ । त्यसैले जात्राको पहिलो दिन दागिं निकाल्ने परम्परा छ । दागिं निकालिएपछि दिवंगत आत्माहरू स्वर्ग जान्छन् भन्ने धार्मिक मान्यता छ ।

संस्कृतिविद् कायस्थका अनुसार केही किंवदन्तीहरूले इन्द्रजात्रालाई देवता र दानवबीचको युद्धसँग पनि जोड्छन् । युद्धमा इन्द्र विजयी भएपछि पृथ्वीका राजा उपरिचर वसु अत्यन्त प्रसन्न भई इन्द्रको आराधना गर्न थाले, इन्द्रले खुशी भएर उनलाई इन्द्रध्वज प्रदान गरे । त्यसपछि इन्द्रध्वजलाई सम्मानका साथ पूजा गर्ने परम्परा बस्यो, जसलाई हरेक वर्ष दोहोर्याइन्छ । यही कारण लिङ्गो ठड्याउने र त्यसलाई इन्द्रध्वजका रूपमा पूज्ने परम्परा इन्द्रजात्राको प्रमुख अंश मानिन्छ ।

उनले भने, ‘अब यसको मुख्य रुपमा उपरिचर भन्ने राजाको बारेमा छ । उनले इन्द्रको खूब भक्ति गर्छ, अनि, इन्द्रले उनलाई इन्द्रध्वज दिन्छन् । उनले त्यो इन्द्र ध्वजलाई सम्मान स्वरूप पूजा गरेर राख्छन् । त्यही भएर हामीले इन्द्रध्वज उठाएर इन्द्र जात्राको सुरुवात गर्छौै । सबैले आफ्नो आफ्नो तरिकाले यसलाई मनाएको देखिन्छ ।’

काठमाडौंका अन्तिम मल्लराजा जयप्रकाश मल्लको पालासम्म इन्द्रजात्रा सानो लिङ्गो ठड्याएर मात्र मनाइन्थ्यो । तर उनले कुमारी जात्रा र इन्द्रजात्रालाई संयोजन गरेर यसलाई अझै भव्य रूपमा मनाउने चलन शुरु गरे । उनीभन्दा अघि लिङ्गो प्रतिकात्मक रूपमा ठड्याएर पूज्ने गरिन्थ्यो भने जयप्रकाश मल्लको पालादेखि यसलाई ठूलो उत्सवका रूपमा स्थापना गरियो । यसरी मल्लकालदेखि हालसम्म इन्द्रजात्रा केवल राजपरम्परा नभई सम्पूर्ण उपत्यकावासीको धार्मिक आस्था बनेको छ ।

इन्द्रजात्रामा कुमारीको रथयात्रा विशेष महत्व राख्छ । रथयात्रामा जीवित देवीका रूपमा मानिने कुमारीलाई विभिन्न मार्ग हुँदै परिक्रमा गराइन्छ । यसलाई राजनीतिक, धार्मिक र सांस्कृतिक शक्ति एकैसाथ प्रदर्शन गर्ने अवसरका रूपमा पनि लिइन्छ । कुमारीलाई इन्द्रको आशीर्वादसहित उपत्यकाको रक्षक मानिन्छ ।

यो पर्व आठ दिन विशेष रूपमा मनाइने भनिए पनि वास्तवमा दस दिनसम्म जारी रहन्छ । प्रत्येक दिनका आफ्नै विधि छन् । पहिलो दिन दागिं निकालेर मृत आत्माहरूलाई स्वर्ग पठाउने विश्वास गरिएको छ भने अन्तिम दिन नानीचा याः सम्पन्न गरिन्छ । यस दिन वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक हुँदै पुनः वसन्तपुर फर्किन्छ । राति भने इन्द्रध्वजा फहराइएको लिङ्गो ढालेर वाग्मतीमा पु¥याएर सेलाउने गरिन्छ । यससँगै इन्द्रजात्रा विधिवत् रूपमा समाप्त हुन्छ ।

धार्मिक दृष्टिले इन्द्रलाई वर्षा, अन्न र उर्वरता दिने देवता मानिन्छ । ऋग्वेदमा समेत इन्द्रलाई बारम्बार आह्वान गरिएको छ । संस्कृतविद् कायस्थका अनुसार ऋग्वेदमा इन्द्र, वरुणलगायतका देवतालाई पानी पार्न, अन्न फलाउन वा अनुकूल परिस्थिति ल्याउन पूजा गर्ने उल्लेख छ । यसै कारण इन्द्रको पूजा गर्ने परम्परा रहँदै आएको हो । उनले भनेझैं उपरिचर वसु नामक राजा इन्द्रको महान् भक्त थिए र इन्द्रले उनलाई इन्द्रध्वज प्रदान गरेका थिए । यसैलाई आधार मानेर हामी आजसम्म इन्द्रध्वज उठाएर इन्द्रजात्रा मनाउँदै आएका छौं ।

इन्द्रजात्रामा प्रदर्शित हुने लाखे नाच, पुककुकिसी, महाकाली नाच जस्ता सांस्कृतिक पक्षहरूलाई पनि धार्मिक विश्वाससँग जोडिन्छ । लाखेलाई असुर वा राक्षसको प्रतीक मानिन्छ जसलाई देवत्वको पक्षले नियन्त्रण गरेको कथा सुनाइन्छ ।
पुककुकिसीलाई इन्द्रको ऐरावत हात्तीको प्रतिरूप मानिन्छ, जसले इन्द्रलाई खोज्ने धार्मिक कथा सम्झाउँछ । यसरी नाच, रथयात्रा, देवपूजा र सांस्कृतिक प्रदर्शन सबैलाई जोडेर मनाइने इन्द्रजात्राले उपत्यकावासीलाई धार्मिक आस्था मात्र होइन, सामुदायिक ऐक्यबद्धताको सन्देश पनि दिएको छ ।

यस पर्वमा मृतक आत्माको उद्धार, अन्नबालीको समृद्धि, वर्षा देवताको आराधना, देवता र दानवबीचको शक्ति सन्तुलन, देवी कुमारीको महिमा, र इन्द्रको सम्मान—यी सबै पक्ष मिसिएका छन् । त्यसैले इन्द्रजात्रा केवल एक जात्रा होइन, यो उपत्यकावासीको जीवनशैली, विश्वास र सांस्कृतिक सम्पदा हो । वर्षेनी हजारौँ भक्तजन यसमा सहभागी भएर आस्थाको बल र परम्पराको निरन्तरतामा एकाकार हुन्छन्। धार्मिक मान्यताले भरिएको यो पर्व आजसम्म निरन्तर चलिरहनुको मूल कारण पनि यही सामूहिक आस्था र श्रद्धा हो ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : ०३ बजे