Logo

समाचार

तयारी पोशाक संघको अध्यक्षमा पुनः पाण्डे निर्वाचित



काठमाडौं । नेपाल तयारी पोशाक संघको अध्यक्षमा पशुपति देव पाण्डे पुनः निर्वाचित भएका छन् । संघको हालै सम्पन्न निर्वाचनबाट पाण्डे दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।

बिहीबार पदभार ग्रहण समारोहमा अध्यक्ष पाण्डेले संघको नेतृत्वको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् ।  सो अवसरमा बोल्दै उनले तयारी पोशाक क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने लक्ष्यसहित संघ अघि बढ्ने बताए ।

‘तयारी पोशाक संघ भनेको अरुलाई उदाहरण दिने र आफूलाई पनि अगाडि बढाउने संस्था हो,’ उनले भने, ‘हामी देशको अर्थतन्त्र, श्रम बजार, निर्यात वृद्धि र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा तयार पार्न निरन्तर काम गर्नेछौं । भारत र चीनजस्ता देशमा तयारी पोशाक उद्योगले अर्थतन्त्रको मेरुदण्डको भूमिका खेलेको छ । हाम्रो पनि त्यही अवस्थालाई पुनः फर्काउने यो सुअवसर हो ।’

२००५ अघि नेपालमा पनि तयारी पोशाक उद्योगले उल्लेखनीय योगदान दिएको स्मरण गराउँदै उनले उक्त गौरव पुनः स्थापित गर्ने प्रतिबद्धता जनाए ।

यसपटक संघको कार्यसमितिमा उपाध्यक्षमा वसन्तराज अधिकारी र भूपेन्द्र कुमार बस्नेत चयन भएका छन् ।  महासचिवमा भीम कुमार गिरी, सह–सचिवमा थोमनाथ वस्याल, कोषाध्यक्षमा संजय कुमार अग्रवाल रहेका छन् । सदस्यहरूमा सुरेशमान श्रेष्ठ, हिराकाजी मुक्तान, सतिस गिरी र सचिन्द्र प्रधानाङ्ग रहेका छन्। साथै, रमेश कुमार कर्णलाई मनोनित सदस्य र सन्दिप पौडेललाई विशेष आमन्त्रित सदस्यका रूपमा चयन गरिएको छ। कृष्ण प्रसाद पाण्डे पनि कार्यसमितिमा सदस्य रहेका छन् ।

अध्यक्ष पाण्डे नेपालबाट अमेरिकालगायत विभिन्न मुलुकमा ठूलो परिमाणमा तयारी पोशाक निर्यात गर्दै आएका सफल युवा उद्यमी हुन् । उनी हस्पिटालिटीसहितका थुप्रै अन्य व्यापार व्यवसायमा समेत सक्रिय छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ३ : २७ बजे