Logo

समाचार

डा. गोविन्द केसीले तीनदिने अनशन तोडे



काठमाडौं – चिकित्सक तथा सामाजिक अभियन्ता डा. गोविन्द केसीले तीनदिने अनशन मंगलबार तोडेका छन्। उनले धनगढीस्थित गेटा मेडिकल कलेजमा उपचाररत बिरामी प्रीतम चौधरीको हातबाट दिउँसो २ बजे जुस पिएर अनशन तोडेका हुन्।

उनका सहयोगी अमृत जैशीका अनुसार डा. केसीले सुरुमा नै तीन दिनको अनशन बस्ने घोषणा गरेका थिए। स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र औषधि सेवन गर्नुपर्ने आवश्यकता भएकाले निर्धारित समयमै अनशन तोडिएको उनले बताए।

डा. केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने, साथै निजी मेडिकल कलेजमा गरिएको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन्।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ३ : ५३ बजे