Logo

समाचार

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो : सचिवालय



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले हालै विद्यादेवी भण्डारीसँग जोडेर आएका समाचारहरुप्रति आपत्ति जनाएको छ ।

भदौ ११ गते राजधानीमा पार्टीको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गरेका थिए ।

उक्त कार्यक्रमका सन्दर्भमा कतिपय अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र मनगढन्ते समाचारहरू प्रसारण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको हो ।

सचिवालयका अनुसार उक्त कार्यक्रम कुनै औपचारिक प्रशिक्षण वा निर्णयात्मक बैठक नभइ महाधिवेशन प्रतिनिधिसँग सामान्य भेटघाट र विचार आदानप्रदानको उद्देश्यले आयोजित गरिएको थियो ।

कार्यक्रममा पार्टीको ऐतिहासिक पृष्ठभूमि, पछिल्लो समय लिइएको नीति, सरकारको कामकारवाही, तथा पार्टीको केन्द्रीय निर्णयहरूबारे अध्यक्ष ओलीले आफ्ना धारणा राखेका थिए ।

भेटमा अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसम्बन्धी व्यक्त गरेको भनिएको एमालेमा मलाई धक्का दिन विद्याबाहेक कसैको दम छैन भन्ने अभिव्यक्ति असत्य, भ्रामक र उद्देश्यपूर्ण ढंगले सार्वजनिक गरिएको सचिवालयले स्पष्ट पारेको छ ।

प्रधानमन्त्री ओलीले पूर्व राष्ट्रपति भण्डारीप्रति आफूले गरेको सम्मान र माया अरू कसैले नगरेको उल्लेख गर्दै उनको पछिल्लो गतिविधिप्रति आश्चर्य व्यक्त गरेका थिए ।

पार्टीको औपचारिक प्रक्रिया नअपनाई मिडिया तथा अन्य दलका नेतासँग भेटघाट गर्दै सक्रिय राजनीतिमा फर्किन खोजिएको विषयले पार्टीमा भ्रम सिर्जना भएको ओलीको भनाइ रहेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले उक्त भेटघाट कार्यक्रममा भएका विषयवस्तु यथार्थपरक रूपमा प्रस्तुत गर्न सञ्चारकर्मी, विश्लेषक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । सचिवालयले भ्रामक समाचारप्रति सचेत रहन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  १२ : ५० बजे