विराटनगर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–२ स्थित रहेको ईवा खोलामा अचानक आएको बाढीको कारण खोलाको बीच भागमा फसेका ४ जना मानिसलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
भदौ १० गते साँझ पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङ सिदिङवा गाउँपालिकाको सिमानामा रहेको ईवा खोलामा पाहा मार्न गएका स्थानिय फिदिम नगरपालिका–४ का १९ बर्षीय प्रतिक तामाङ, २३ बर्षीय झल्ला सम्बाहाम्फे, २८ बर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ बर्षीय सन्तोष पन्धाक अचानक आएको बाढी कारण खोलाको बीच भागमा रहेको बगरमा फसेका थिए ।
घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी फलैचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोलीले पानी परिरहेको र खोलामा भेल बाढी आईरहेको कारण उद्धार गर्न कठिनाई भएकोले उनिहरुलाई राती खानको लागी चाउचाउ र लाईटरलाई ढुंगामा पोको पारेर फाली उपलव्ध गराएका थिए ।
रातभरी ठुलो ढुंगाको ओतमा आगो तापी बसेका उनिहरुलाई ११ गते बिहान खोलामा बाँसको पुल बनाई स्थानियको सहयोगमा सकुशल उद्दार गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया