पोखरा । प्रभु बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा अवस्थित मार्फा प्यालेस होटलसँग विशेष छुट सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकको डेबिट वा क्रेडिट कार्डसहित अन्य डिजिटल माध्यम प्रयोग गरी भुक्तानी गर्दा होटलको आवास, खाना तथा मनोरञ्जन सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौतामा मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेडका तर्फबाट जोमसोम क्लस्टर प्रमुख तथा शाखा प्रबन्धक नरेन्द्र थकालीले हस्ताक्षर गरेका हुन्।
आर्थिक क्षेत्रका विज्ञहरूका अनुसार यस्तो सहकार्यले डिजिटल भुक्तानी प्रवर्द्धन, वित्तीय समावेशीकरण र स्थानीय पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुर्याउने अपेक्षा गरिएको छ। बैंकिङ क्षेत्रको सेवामार्फत होटल व्यवसायमा ग्राहकको पहुँच सहज हुने भएकाले यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ।
स्याउ उत्पादनका लागि चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटललाई परिवारमैत्री वातावरण, आरामदायी बसाइ र गुणस्तरीय सेवाका कारण पर्यटकको आकर्षण केन्द्र मानिन्छ। प्रभु बैंकसँगको सहकार्यले होटल व्यवसाय मात्र नभई सम्पूर्ण मुस्ताङको पर्यटन क्षेत्रमा आर्थिक गतिविधि बढाउने विश्वास गरिएको छ।
प्रतिक्रिया