Logo

मुख्य समाचार

कुलमान घिसिङ : प्रवासी नेपालीको योगदानलाई उचित सम्मान गर्न सरकारसँग आग्रह



लिस्बन । प्रवासी नेपालीले पठाएको रेमिटेन्समार्फत देशको अर्थतन्त्र चलेको बताउँदै नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई उनीहरूको योगदानको सम्मान गर्न आग्रह गरेका छन्।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलले शनिबार लिस्बनमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै घिसिङले रेमिटेन्समार्फत् मुलुकको अर्थतन्त्र धान्ने प्रवासी नेपालीहरूलाई पर्याप्त सम्मान नदिइएको गुनासो गरे।

उनले खाडी मुलुकदेखि विश्वभर रहेका नेपालीहरूले हरेक महिना एक खरब रुपैयाँभन्दा बढी पठाइरहेकाले मुलुकको अर्थतन्त्र उभिएको तर स्वदेश फर्किँदा तिनै प्रवासीले विमानस्थलमै दुःख पाउने अवस्था रहेको उल्लेख गरे।

“प्रवासी नेपालीले मुलुकलाई धानेका छन्, तर त्यसअनुसार सम्मान पाएका छैनन्,” घिसिङले भने।

उनले प्रवासी नेपालीलाई सहज रूपमा लगानी गर्ने वातावरण बनाउने, गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता कार्यान्वयन गर्ने र विदेशमै बस्दा पनि मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

विद्युत् क्षेत्रमा आफ्नो अनुभव साझा गर्दै घिसिङले नेपालले ५० हजार मेगावाट विद्युत् उत्पादन गर्न सके बर्सेनि ३०–४० खरब रुपैयाँ आम्दानी गर्न सक्ने र त्यो शिक्षा, स्वास्थ्य र पूर्वाधारमा खर्च गर्न सकिने बताए। हाल ७ हजार मेगावाटका परियोजना निर्माणाधीन रहेको र भारत–बंगलादेशलाई विद्युत् निर्यात भइरहेको उनले स्मरण गरे।

“विद्युत् महसुल २५ प्रतिशत कम गर्दा पनि प्राधिकरणले वार्षिक १२–१५ अर्ब रुपैयाँ नाफा गरिरहेको छ। १० वर्षसम्म लोडशेडिङ अन्त्य हुँदैन भन्ने भनाइलाई खारेज गर्दै हामी आज विद्युत् निर्यात गरिरहेका छौँ,” घिसिङले भने।

उनले ‘उज्यालो नेपाल अभियान’ मार्फत राजनीतिक नेतृत्व र नीति निर्माणमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै देश विकासमा प्रवासी नेपालीको योगदान अपरिहार्य रहेको बताए।

सो अवसरमा घिसिङलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा महासङ्घ पोर्चुगलका अध्यक्ष चोप कुमार मगरले अध्यक्षता गरेका थिए भने अन्य पदाधिकारी तथा समुदायका प्रतिनिधिहरूले मन्तव्य दिएका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ११ : २३ बजे