काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेपालको सहमति बिना भारत–चीनले लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने सहमति आपत्तिजनक र दुःखद भएको बताएका छन्।
श्रेष्ठले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको ऐतिहासिक तथ्य र प्रमाणलाई स्मरण गराउँदै सो सहमति सच्याउन भारत र चीनलाई आग्रह गरेका छन्।
उनका अनुसार संवेदनशील विषयमा नेपाल र नेपाली जनताको सार्वभौमिकता, स्वाभिमान र मित्र भावनालाई उपेक्षा गरिएको छ। भारतले यसलाई नेपालसँगको वार्तामा विवादित क्षेत्रका रूपमा स्वीकार गरिसकेको भन्दै उनले परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत समाधान निकाल्ने सहमति भएको पनि स्मरण गराए।
सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणका क्रममा लिपुलेकलाई भारत–चीन व्यापारिक मार्गका रूपमा सञ्चालन गर्ने सम्झौता गरेका थिए। त्यसबेलै नेपालले आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको थियो। तर हाल फेरि नेपाललाई वेवास्ता गर्दै सम्झौता गरिएको भन्दै श्रेष्ठले आश्चर्य प्रकट गरे।
‘विवाद समाधान नभएसम्म नेपालको सहमति बिना कुनै निर्णय लिन सकिँदैन,’ श्रेष्ठले भने। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा यो विषय उठाउनुपर्ने आवश्यकता औंल्याए।
श्रेष्ठले भारत–चीन सम्बन्ध सुधार र घनिष्ठताको स्वागत गर्दै पनि नेपालको सार्वभौमिकता र स्वाभिमानको मूल्यमा यस्तो सम्बन्ध विकास हुनु अस्वीकार्य हुने चेतावनी दिए।
प्रतिक्रिया